सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा जारी ३४औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा गण्डकी प्रदेशसहित ३ विभागीय टोली सेमीफाइनलमा पुगेका छन् ।
प्रतियोगिताको पाँचौं दिनसम्म आइपुग्दा गण्डकी, एपीएफ, नेपाल आर्मी र पुलिस क्लब सेमीफाइनलमा पुगेका हुन् ।
बुधबार बिहान १०ः३० बजे पहिलो सेमीफाइनलमा समूह ‘ए’को विजेता सशस्त्र प्रहरी (एपीएफ) र गण्डकी प्रदेश भिड्ने छन् । साविक विजेता समेत रहेको एपीएफ समूहका सबै ४ खेलमा शतप्रतिशत नतिजासहित १२ अंक जोड्दै समूह विजेता बनेको छ ।
गण्डकी भने समूह चरणमा ३ खेल जित्दा विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग पराजित भएको थियो । यसले समूह चरणका ३ खेल जितेर ९ अंक प्राप्त गरेको छ । बुधबार दिउँसो १ बजे हुने दोस्रो सेमीफाइनल खेलमा समूह ‘बी’को विजेता आर्मीले अर्को विभागीय टोली नेपाल पुलिस क्लबसँग खेल्नेछ ।
पुलिस भने समूह चरणमा अर्को विभागीय टोली एपीएफसँग पराजित भएपछि उपविजेताका रूपमा ९ अंकसहित अन्तिम ४ मा पुगेको छ । आर्मीले समूह चरणका चारै खेल जितेर १२ अंक प्राप्त गरेको छ ।
बुधबार पहिलो र दोस्रो चरणमा हुने सेमीफाइनलका २ विजेता टोली फाइनल खेलका लागि छनोट हुनेछन् । फाइनल खेल बिहीबार हुने आयोजकले जनाएको छ । पुस २० गतेदेखि सञ्चालन भएको प्रतियोगिताबाट कोशी, मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश बाहिरिएका छन् ।