काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री बेदुराम भुसालले नियम मिचेर कनिष्ठ वैज्ञानिक ध्रुवराज भट्टराईलाई कृषि अनुसन्धान परिषद् (नार्क) काे कायममुकायम कार्यकारी निर्देशक बनाएका छन् ।
नार्कका पदेन अध्यक्षसमेत रहेका मन्त्री भुसालले ४० औं वरीयताका भट्टराईलाई नार्कको नेतृत्व दिएका हुन् ।
नार्कका तत्कालीन कार्यकारी निर्देशक दीपक भण्डारी गत जेठ २८ गते अनिवार्य अवकाशमा गएपछि उनले दोस्रो वरीयतामा रहेका डा. दोजराज घिमिरेलाई निमित्त कार्यकारी निर्देशक बनाएका थिए ।
मन्त्री भुसालले घिमिरेलाई हटाइ भट्टराईलाई कार्यकारी बनाएका हुन् । उनले भट्टराईलाई गत असार १ गते नार्कको कायममुकायम निर्देशकको जिम्मेवारी दिएका थिए । यसले गर्दा नार्कमा विरोध भएको छ ।
स्रोतका अनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिवद्वय डा. गोविन्दप्रसाद शर्मा र डा. दीपककुमार खरेलसँग कुनै छलफल र परामर्श नै नगरी जिम्मेवारीसहितको पत्र दिएपछि नार्कमा विवाद भएको हो ।
मन्त्री भुसाल र भट्टराई दुवै अर्घाखाँचीका हुन् ।
नार्कमा कार्यकारी निर्देशक नियुक्त गर्दा सुरुमा सर्च कमिटीले तीन जनाको नाम सिफारिस गर्नुपर्ने प्रावधान छ । कमिटीले सिफारिस गरेका तीन जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले नार्कको कार्यकारी निर्देशक नियुक्त गर्ने गर्दछ।