शशांक कोइराला भन्छन्- गिरिजाबाबुको जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा हुँदैन

शशांक कोइराला भन्छन्- गिरिजाबाबुको जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा हुँदैन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शशांक कोइरालाले गिरिजाप्रसाद कोइरालामा जस्तो निर्णय गर्ने क्षमता सबै नेतामा नहुने बताएका छन् ।

स्व. गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीका अवसरमा बिपी कोइराला युवा नेतृत्व मञ्चले सोमबार यहाँ आयोजना गरेको रक्तदान कार्यक्रममा उनले गिरिजाबाबु अदम्य साहस र निर्णय क्षमता भएकाे नेताको रूपमा चित्रण गरे ।

कांग्रेसका पूर्वमहामन्त्री डा. कोइरालाले भने, 'गिरिजाबाबुको जस्तो निर्णय क्षमता सबैमा हुँदैन, उहाँ जे बोल्नुहुन्थ्यो त्यो पूरा गर्नुहुन्थ्यो । उहाँकै कारण दोस्रो जनआन्दोलन सफल भएको हो ।' 

उनका अनुसार दोस्रो जनआन्दोलन र सङ्घीय लोकतान्त्रिक गणतन्त्र गिरिजाबाबुका कारण सम्भव भएको हो ।

रक्तदान जस्तो सामाजिक काममा सबै लाग्नुपर्ने डा. कोइरालाको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सञ्जय गौतम र उर्मिला थपलिया, कांग्रेस सङ्खुवासभाका सभापति एवं सांसद दीपक खड्कालगायतले रक्तदान सामाजिक काम भएकाले कांग्रेसका नेता कार्यकर्ताले प्राथमिकता दिनुपर्ने बताए ।

गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसर पारेर आयोजित रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेको मञ्चका अध्यक्ष भरत खड्काले जानकारी दिए ।