काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गरिब र विपन्नलाई सुलभ र सहजरूपमा उपचार दिलाउन सरकार दृढ संकल्पित रहेको बताएका छन् ।
लोकसेवाबाट लिइएको परीक्षामा उत्तीर्ण भई स्थायी नियुक्ति पाएका स्टाफ नर्सलाई सम्बोधन गर्दै उनले आगामी पाँच वर्षभित्र सबै नागरिकमा निःशुल्क स्वास्थ्य उपचारको पहुँच पुर्याउन प्रयत्न भइरहेको जानकारी दिए ।
मन्त्री बस्नेतले भने, 'संविधानले नागरिकका लागि सुनिश्चित गरेको औषधि उपचार पाउनुपर्ने दायित्व पूरा गर्न सरकार दृढ छ । यस क्षेत्रमा देखिएका कमीकमजोरी सुधार गर्न यही क्षेत्रमा कार्यरत जनशक्तिको साझा भावना हुनुपर्छ ।'
स्टाफ नर्स मानवीय संवेदनासँग जोडिएको पद र जिम्मेवारी रहेको बताउँदै उनले उपचारसँगै बोली र व्यवहारले पनि बिरामीले सहजता महसुस गर्ने हुँदा त्यसतर्फ विशेष ध्यान पुर्याउन सुझाव दिए ।
मन्त्री बस्नेतले भने, 'स्वास्थ्य क्षेत्रमा स्टाफ नर्सको धेरै ठूलो जिम्मेवारी, भूमिका र दायित्व छ । मानवीय सेवाभावका हिसाबले भगवान्कै जस्तो भूमिका छ ।'
स्वास्थ्य क्षेत्रका जनशक्तिप्रतिको दायित्व पूरा गर्दै उत्साहित तुल्याउन राज्य कटिबद्ध रहेको बताउँदै उहाँले बिरामीको सेवामा क्रियाशील जुनसुकै तहको जनशक्तिलाई तालिम र प्रशिक्षणमा प्राथमिकता दिइने घोषणा गरे ।
मन्त्रालयका सचिव डा. रोशन पोखरेल र देवकुमारी गुरागाईंले नवनियुक्त दुई सय ९५ जना स्टाफ नर्सलाई राज्यले दिएको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गर्न निर्देशन दिँदै बधाई ज्ञापन गरे ।