काठमाडौं । यस वर्षको एसईई चैत पहिलो साताबाट हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले वार्षिक कार्यतालिका अनुसार एसईई चैतको पहिलो साताबाट हुने प्रष्ट पारेको हो ।
परीक्षा सर्ने वा दुई चरणमा हुने भन्ने अन्योलबिच बोर्डले वार्षिक कार्यतालिका अनुसार नै परीक्षा हुने बताएको छ । शिक्षा पत्रकार सञ्जाल ९इजोन० ले आयोजना गरेको कार्यक्रममा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले वार्षिक क्यालेन्डर अनुसार परीक्षा हुने बताए ।
‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो साताबाट हुन्छ । माघको पहिलो सातामा रुटिन निकाल्छौँ । वार्षिक क्यालेन्डर अनुसार नै परीक्षा हुन्छ । यसमा कुनै शङ्का नगर्न सबैमा अनुरोध गर्दछौँ,’ अध्यक्ष शर्माले भने ।
संसद्मा विद्यालय शिक्षा विधेयक पास भएर कानुन नबनेसम्म एसईई हुने प्रष्ट पारेका हुन् । ‘विद्यालय शिक्षा विधेयक अहिले संसद्को शिक्षा समितिमा छलफलको क्रममा छ । उक्त विधेयक पास भएर संसद्मा गएर त्यहाँ पनि पास भएर ऐन बन्न लामो समय लाग्छ । त्यो बेलासम्म हामीले आफ्नो काम गरिरहन्छौँ,’ अध्यक्ष शर्माले भने ।
‘विद्यालय शिक्षा विधेयक र जाजरकोट पश्चिम–रुकुममा गएको भूकम्पका कारण परीक्षा हुँदैन । परीक्षा दुई चरणमा हुन्छ भन्ने चर्चा चलिरहेको रहेछ । यसमा हामी परीक्षा तथा नतिजाका लागि वार्षिक क्यालेन्डर बनाएका छौँ । त्यही अनुसार हुन्छ,’ उनले भने ।
बोर्डले प्रश्नपत्र निर्माण तथा सर्टिफिकेटिङको काम गर्ने र परीक्षा सञ्चालन तथा व्यवस्थापनको काम प्रदेशले गर्ने उनले प्रष्ट पारे । सर्टिफिकेटिङको काम राष्ट्रिय परीक्षा बोर्डबाट मात्रै हुने भन्ने कानुनी व्यवस्था रहेकाले एसईई प्रदेशलाई हस्तान्तरण गर्न नसकिएको उनको भनाई छ ।
पास हुनको लागि ३५ प्रतिशत ल्याउनैपर्ने
यो वर्षदेखि सबै विषयमा ३५ प्रतिशत अनिवार्य ल्याउनै पर्ने प्रावधान राखिएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले ३५ प्रतिशत अङ्क नल्याउने विद्यार्थीले मार्कसिट नपाउने बताए ।
पौडेलका अनुसार यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदैछ । केही विषयको पुरानो अनुसार हुन्छ । नन ग्रेडिङ लागू हुदैछ । ३५ प्रतिशत सबै विषयमा ल्याउनै पर्ने हुन्छ ।
एसईईका लागि रजिस्ट्रेसन फाराम भरेका विद्यार्थीको सङ्ख्या