काठमाडौं । दुर्घटनामा घाइते सप्तरीका प्रा डा. पञ्चदेव यादवको ६३ वर्षको उमेरमा सोमबार निधन भएको छ ।
नेपाल राष्ट्रिय प्राध्यापक संघ मधेस प्रदेशका अध्यक्ष एवं महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका प्रा डा. यादवको उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन् ।
प्रा डा. यादवको साढे एक महिनादेखि विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको थियो ।
यादव प्याब्सन सप्तरीको दुई कार्यकाल अध्यक्ष रही हाल प्याब्सन मधेस प्रदेशको प्राज्ञिक सल्लाहकार थिए ।
उनी सप्तरीमा क्रियाशील सामुदायिक सेवा केन्द्र र मैथिली साहित्य परिषद्को आजीवन सदस्यसमेत थिए ।
ज्ञानज्योति सेकेन्डरी स्कुल राजविराजका संस्थापकसमेत रहेका यादव गत जेठ ३ गते राजविराज नगरपालिका-२ स्थित राजविराज–हनुमाननगर सडकखण्डमा सवारी दुर्घटनामा परेका थिए ।
विराटनगरमा शव परीक्षण पश्चात आजै उनको जन्मस्थान राजविराज नगरपालिका-१३ स्थित बिषहरियामा दाहसंस्कार हुने परिवारले जनाएको छ ।


























