काठमाडौं । नारायण नगरपालिकामा वेलासपुर कोटिला, कोतगढी मन्दिर, पञ्चदेवल कृतिदेवल, वागमानी, राइली त्रिपानी जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरू समेत रहेका छन् ।
यस नगरपालिकाको वडा न. ७ मा वडा अध्यक्षको कार्यभार खड्ग बहादुर शाहीले सम्हालिरहेका छन् । उनै शाहीसँग समग्र वडाको विकासका विषयमा केन्द्रित रहेर व्यवस्था डटकमका लागि रोशन भट्टराईले गरेको कुराकानीको सम्पादित अंश :
तपाई यस वडाको वडा अध्यक्षको भूमिकामा हुनुहुन्छ, आफ्नो कार्यकालमा के कस्ता काम गर्ने योजना बनाउनुभएको छ ?
स्थानीय तहमा जनतासँग जे गर्छु भनेर भोट मागेको थिएँ , त्यही घोषणापत्रका आधारमा काम गरिरहेको छु । पहिलो वर्ष हामीले समग्र वडामा विकासको योजना बनाएर त्यसमा काम गरिरहेका छौँ । हामीले विशेषतः कृषि, खानेपानी, शिक्षा, स्वास्थ्य तथा मदिरा मुक्त वडा घोषणा गर्न जोड दिएका छौँ । जनप्रतिनिधिले जनताको बिचमा रहेर काम गर्ने हो ।
खानेपानीको समस्या कसरी सम्बोधन गर्नुहुन्छ ?
वडाको विभिन्न क्षेत्रमा खानेपानी विस्तार भइरहेको छ । पहिला पानीको महसुल अत्यन्त महँगो थियो । वरिपरि खोलाले घेरिएको र प्रशस्त मुहानहरू भए तापनि खानेपानीको समस्या रहेको थियो । पालिकामा सहारे खानेपानी आयोजना सञ्चालनमा आएपछि छिट्टै नै खानेपानीको समस्या समाधान हुनेछ ।
७ नम्बर वडा मात्र होइन पालिकाका सबै वडामा सात वटा टयाङकीले खानेपानीको समस्या हल हुने छ । हाम्रो वडामा पनि ३ वटा खानेपानी टयाङकी बनिसकेको छ । ठाउँ ठाउँमा धारा जडानको कार्य अघि बढिरहेको छ । १ महिना भित्र वडाका जनताले स्वच्छ पानी पिउन पाउने छन् ।
स्वास्थ्य क्षेत्रमा के कस्ता काम भइरहेका छन् ?
सुत्केरी आमाहरूलाई निःशुल्क रूपमा स्वास्थ्य सेवा दिइरहेका छौँ । ५० शैय्याको जिल्ला अस्पताल, एउटा प्राथमिक स्वास्थ्य केन्द्र, तीन वटा उप–स्वास्थ्य चौकी, एक सहरी स्वास्थ्य केन्द्रले स्वास्थ्य क्षेत्रमा सेवा दिँदै आइरहेका छन् । वडाले पनि डाक्टरलाई घरघरमा पठाएर ज्येष्ठ नागरिकहरूलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गरिरहेको छ ।
शिक्षाको अवस्थाबारे बताउन सक्नुहुन्छ ?
विपन्न वर्गलाई पूर्ण निःशुल्क छात्रवृत्ति दिएर शिक्षामा एउटा नयाँ अभ्यासको थालनी गरेका छौँ । शिक्षकको व्यवस्थापनमा पनि पालिका अघि बढिरहेको छ । कुनै शिक्षक बिदामा बस्दा वैकल्पिक शिक्षकको व्यवस्था रहेको छ । त्यसले पठनपाठनमा क्षति नगर्ने वडाको विश्वास रहेको छ । वडाले विभिन्न भौतिक संरचनाको काम अघि बढिरहेको छ ।
शिक्षामा यस वडाले स्नातक सम्मको अध्ययन हुने नारायण क्याम्पसको स्तर उन्नती गरेको छ । त्यसका साथसाथै प्राविधिक शिक्षालय सञ्चालनमा रहेका छन् । अति विपन्न परिवारका छात्र, छात्रालाई वडाले विभिन्न शीर्षकमा सहयोग गरेको छ ।
सामाजिक सुरक्षामा वडाले के कस्तो पहल गरिरहेको छ ?
पचास वर्ष कटेका अविवाहित महिलालाई भत्ता दिने काम हामीले सुरु गरेका छौ । यो वडाको मात्र नभएर नारायण नगरपालिकाको समेत नयाँ काम हो । एकल पुरुषलाई पनि भत्ता दिने निर्णय पालिकाले गरेको र त्यसमा वडाको समेत समन्वयन भएको छ । आफ्नो सुरक्षा भत्ता लिन बैंकसम्म जान नसक्नेहरूका लागी पालिका तथा वडाले घरमै लगेर भत्ता दिने कामको सुरुवात गरेको छ । ज्येष्ठ नागरिकको सम्मान गर्ने, उनीहरूलाई दिवा खाजाको व्यवस्था गर्ने काम यस वडाले गर्दै आएको छ ।
कृषि क्षेत्रमा भएका काम र योजनाका बारे केही भन्नु छ ?
कृषि क्षेत्रमा वडाले विभिन्न काम गर्दै आइरहेको छ । योजना अनुसार काम गर्न हामी प्रतिबद्ध रहेका छौँ । बाख्रा, भैँसी, गाई, बङ्गुर, माछा पालन जस्ता कुरामा वडाले सहुलियत प्रदान गर्दै आएको छ ।
तरकारी खेतीमा पहिलाको भन्दा धेरै लगानी गरिएको छ । अहिले नवप्रवर्धन कार्यक्रममार्फत धेरै ठाउँमा बेमौसमी तरकारी खेती हुन थालेको छ । टयाङकी र टनेल निर्माण कार्य पनि सुरु भएको छ । यसले किसानहरूलाई प्रोत्साहित गर्न सक्छ । अनुदानका कार्यक्रम पनि सुरु भएको छ । किसानलाई प्रोत्साहन गर्ने यस्ता अनुदानका कार्यक्रम अझै आउने छन् । यो वर्ष हामी फलफूल खेतीमा ठुलो लगानी गर्ने योजनामा छौँ ।
किसानले उत्पादन मात्र गर्ने कि बजार भाउ पनि पाउने ?
भारतबाट आएका कृषि उत्पादनको मूल्यभन्दा यहाँका किसानहरूले उत्पादन गरेका सामाग्रीको मूल्य थोरै बढी हुन्छ । किसानहरूलाई प्रतिस्पर्धा गर्न सजिलो होस् भनेर हामीले अनुदान दिएको हो । बजारमा दिनुपर्ने सुविधा दिन वडा तत्पर छ ।
विकास निर्माणमा बजेटको सुविधा कस्तो छ ?
राज्यले दिनुपर्ने सबै बजेट दिइरहेको छैन । कार्यक्रम बनाएका काममा पनि कहिलेकाहीँ बजेट रोकिँदा समयमा काम पुरा गर्न सकिँदैन । बजेटको अभावले राजस्व संकलनमा पनि प्रत्यक्ष असर पर्छ । बजेट नआउँदा जनता मारमा पर्ने निश्चित छ ।
मदिरा मुक्त वडा घोषणा गर्नु भएको छ , यो सम्भव छ ?
मदिरा मुक्त वडा घोषणा गर्ने कुरामा सर्वदलीय बैठकको निर्णय भएको हो । यसमा सबै बुद्धिजीवीहरू साथै युवा क्लबका साथीहरू पनि सकारात्मक भएका हुन् । हर कुरामा समाज अघि बढे पनि यस्ता नकारात्मक कुराको दलदलबाट निकास नपाएको बेलामा हामीले एउटा सबल बाटो अपनाएको छौ । गत भदौ बाट यो नियम लागु भएपछि सबैले यसको पालना गरेका छन् । यसको नियमन गर्न हामी सधैँ तत्पर छौँ ।