काठमाडौं । गत स्थानीय तह निर्वाचनमा जुम्लाको चन्दननाथ नगरपालिका चर्चामा रह्यो । चुनावमा देशभरका स्थानीय तहका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसम्बद्ध गठबन्धनका उम्मेदवार हाबी थिए ।
गठबन्धनभित्र चन्दननाथ नगरपालिका कांग्रेसको भागमा थियो, उम्मेदवार बनेका थिए अधिवक्ता पदमबहादुर शाही । पहिलो चुनावमा पनि पार्टीले टिकट नदिएको भन्दै असन्तुष्ट रहेका राजुसिंह कठायतले बागी उम्मेदवारी दिए । स्वतन्त्र उम्मेदवारका रूपमा प्रतिस्पर्धा गरेका कठायत गठबन्धनका शाहीलाई पराजित गर्दै मेयर बने । शाही जम्मा ६२ मतान्तरले पराजित भएका थिए । एमालेबाट उम्मेदवार रहेका धर्मेन्द्र रोकाया तेस्रो स्थानमा रहे ।
हाम्रो देशमा चुनावको परिणामसम्म मात्र उम्मेदवारको चर्चा हुन्छ । त्यसपछि अर्को चुनाव नआउँदासम्म पराजित भएकाहरूको नामसम्म पनि खोजी हुँदैन । पराजित भएकाहरू पनि त आफ्नो नगर/गाउँपालिकाका लागि केही गर्छु भनेरै निर्वाचनमा होमिएका हुन्छन् तर पराजित भइसकेपछि ती एजेण्डा कार्यान्वयनका लागि नेतृत्वमा पुगेकाहरूसमक्ष कत्तिको राख्छन् ? पराजित भए पनि जनताका लागि काम गर्न सहकार्य या घच्घच्याउने काम गरिरहेका छन् कि छैनन् ? यही विषयमा रहेका व्यवस्था डट्कमले चन्दननाथ नगरपालिकामा मेयर पदमा उम्मेदवार रहेर पराजित भएका नेपाली कांग्रेसका उम्मेदवार पदमबहादुर शाही र एमालेका उम्मेदवार धर्मेन्द्र रोकायासँग व्यवस्था डटकमका संवाददाताले गरेको कुराकानीको सम्पादित अंश उनकै शब्दमा –
जनताले आफैं मूल्यांकन गरिहाल्छन्: शाही
गठबन्धनको उम्मेदवार भएकाले जितिहाल्छु भन्ने नै थियो तर चुनावमा अनपेक्षित नतिजा आयो । आफ्नै पार्टीबाट बागी उम्मेदवार उठेकाले पनि समस्या देखियो । धेरै फरक त होइन, जम्मा ६२ मतान्तरले हारेको हुँ तर मेरो नगरपालिकाका लागि केही गर्छु भन्ने हुटहुटी भने यहीँ पहिलो पराजयमा सकिएको छैन । भविष्यमा त्यो मौका फेरि पनि आउन सक्छ, आयो भने भरपुर सदुपयोग गर्नेछु ।
नगरपालिकाको समृद्धि र नगरवासीको जीवन सुधारका एजेण्डा लिएरै हामी चुनावमा होमिएका थियौं । हार्दैमा ती एजेण्डा सकिन्छन् भन्ने हुँदैन । फेरि पनि मौका आउँछ तर तपाईंले जुन सहकार्य र निगरानीको कुरा गर्नुभयो, त्यो चाहिँ भएको छैन ।
उहाँले पनि जितिसकेपछि अब कसरी अगाडि जाने भन्ने विषयमा औपचारिक सल्लाह गर्नुभएको छैन । हामीले हार व्यहोरे पनि हाम्रा एजेण्डामा काम हुनुपर्छ भनेका छैनौं । हामी नै जाँदा फेरि पराजित भएको झोकमा आयो भन्ने कुरा पनि हुनसक्छ ।
तर सार्वजनिक फोरमहरूमा भने कुरा उठाएका छौं । नगरपालिकाको नेतृत्वले जनताका लागि गर्नुपर्ने कामहरू के–के हुन् भन्ने विषयमा गम्भीर रूपमा कुरा उठाएकै छौं तर हामीले सहकार्यका लागि कोसिस गरेका छैनौं, त्यो गर्नुपर्ने हो, सकिरहेका छैनौं ।
जहाँसम्म तपाईंले निगरानी र ‘कन्ट्रोल’ गर्ने ‘मेकानिजम’को कुरा गर्नुभयो, यो स्वायत्त सरकार भएकाले संविधानले नै परिकल्पना गरेको छैन तर सबैभन्दा निगरानी र नियन्त्रण गर्ने त जनता नै हुन् । जनता जागरुक हुनुप¥यो ।
हामीले दिएको मतबाट जितेकाहरूले के कस्तो काम गरिरहेका छन् । नगरवासीका लागि सोचेका छन् कि आफ्ना लागि मात्र सोचिरहेका छन् भन्ने मूल्यांकन त मतदाताले गरिहाल्छन् नि ! तर यसमा जनता जागरुक हुनुपर्छ । हाम्रो मतले पाएको अधिकार सदुपयोग भएको छ कि दुरुपयोग भन्ने विषयमा जनता जानकार हुन पनि आवश्यक छ । किनकि सार्वभौमसत्ता सम्पन्न त जनता हुन् । यसपटक राम्रो काम भएन भने अर्कोपटक करेक्सन गरिहाल्छन् नि !
यस्तै भ्रष्टाचार, अनियमितता के–के भइरहेका छन् ? ती हेर्ने राज्यका निकायहरू छँदैछन् । मलाई लाग्छ – सर्वप्रथम त जनताले निगरानी राख्नुप¥यो । त्यसपछि सुशासनका लागि भएका राज्यका संरचनाहरूले राम्रो काम गर्ने हो भने स्थानीय सरकारका गतिविधि निगरानी राख्ने खालको कुनै राजनीतिक संयन्त्र चाहिँदैन ।
२ वर्ष पुग्न लागिसक्यो जनप्रतिनिधिका रूपमा उहाँहरू आएको तर अब सन्तुष्ट भन्ने कि असन्तुष्ट बीचमै देखिरहेको छु । सबै नराम्रो मात्रै भएको छ भन्ने अवस्था पनि छैन । राम्रै भइरहेको जस्तो पनि देख्दिनँ तर पनि सुधार गर्नुपर्ने कुराहरु धेरै देख्छु ।
सेवक भन्दा पनि शासकको व्यवहार भयो: रोकाया
जनताले त आफ्नो सेवाका लागि मतदान दिएर पठाएका हुन् तर अहिले उनीहरूको प्रवृत्ति शासकको जस्तो देखिएको छ । जनताका समस्या एकातिर छन्, उहाँहरूको प्राथमिकता अर्कातिर छ । कहाँ, कसलाई कुन ठेक्का कतिमा दिने भन्ने देखिन्छ ।
देशका अन्य क्षेत्रमा पनि स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । त्यहाँ उहाँहरूले गरेको कामको तुलना हाम्रो नगरपालिकामा गर्ने हो भने आकाश–पातालको फरक छ । कुन काममा प्राथमिकता दिँदा जनताले सहज महसूस गर्छन् भन्ने ध्यान उहाँहरूमा छँदै छैन । केही कुराको समस्या समाधानका लागि अनुरोध गर्न जाँदा पनि हुन्छ भन्ने जवाफ चाहिँ आउँछ तर काम हुने सम्भावना न्यून हुन्छ ।
निर्वाचनमा पराजित भए पनि नगरपालिकामा हुने गरेका कामकारबाहीबारे चासो लिनु हाम्रो कर्तव्य हो । चाहे विवाद होस् या जनताका समस्या समाधान गर्ने कुरामा । म त २ पटक नगरपालिकामा ध्यानाकर्षण गर्न गएको छु । पहिलोपटक नगरपालिकाले बजेट विनियोजन गर्दा समान वितरण नभएको भन्दै वडाध्यक्षहरूले बहिष्कार गर्नुभयो । समाधानका लागि हामी गएका थियौं । बजेट विनियोजनकै बेला समस्या हुँदा जनताकै काममा ढिलाइ हुने हो भनेर हामी समाधानका लागि गएर बस्यौं । समाधान पनि भयो । अर्काेपटक पनि नगरपालिकाले विकास निर्माणका लागि दिनुपर्ने प्राथमिकताबारे ध्यानाकर्षण गराउन गएका थियौं । यो त नगरपालिका मात्र नभई जिल्लाका सबै पालिकामा पुग्यौं ।
विकासको नाममा जहिले जंगल कोपर्ने र भएको प्राकृतिक संरचनाहरू बिगार्ने काम मात्र भए । गाउँमा युवा छैनन्, काम गर्ने जनशक्ति छैन । कुनै एउटा पहुँचवालाका लागि अनावश्यक रूपमा अनकन्टार ठाउँमा पनि बजेट हालेर बाटो खन्ने कामहरू भए । आखिर जनता नै गाउँमा नभएपछि ती विकास कसका लागि ? कम्तीमा भएका जनताका लागि आधारभूत कुराहरूमा लगानी गर्नुप¥यो । क्षमता विकास, रोजगारी र गाउँमै केही गरेर खानसक्छु भन्ने वातावरण बनाउनतिर योजना बनाउनुप¥यो भनेर नगरपालिकासहित सबै ठाउँमा गएका हौं ।
हामी पराजित भए पनि उहाँलाई नगर विकासका लागि चाहिने सहयोग गर्न हामी तयार छौं । हामी बेला–बेला जान्छौं पनि तर उहाँले पनि भन्नुप¥यो । स्वयभावले कोही जनप्रतिनिधि पनि नराम्रो त हुनुहुन्न तर कुरा क्षमताको हो नि ! नेतृत्वमा बसिसकेपछि कि आफूले क्षमता राख्नुप¥यो । होइन भने कसरी राम्रा काम गर्न सकिन्छ भन्ने सल्लाह पनि लिनुप¥यो ।
जनताले त विद्यार्थीका रूपमा ‘होमवर्क’ दिएर पठाएका हुन् । अब ५ वर्षभित्र त्यो जिम्मेवारी, कर्तव्य पूरा गर्ने किन नगर्ने भन्ने कुरा हो तर हाम्रा जनप्रतिनिधि अधिकांशमा शासकको झल्को देखिन्छ, जनताका लागि सेवा गर्नुपर्छ भन्ने भावभन्दा बढी शासन गर्नुपर्छ भन्ने धेरै छ । यो सुधार हुनु आवश्यक छ । हामीजस्ता युवाहरूले अब यो बदल्नुपर्छ । राजनीतिमा एकपटक निर्वाचित भइसकेपछि फेरि जनतासँग इमान्दार हुनुपर्दैन भन्ने जुन संस्कार बसेको छ – अब त्यसलाई चिर्नुपर्छ । हामी त्यही अभियानमा पनि छौं । चाहेर हुने र नचाहेर नहुने भन्ने होइन । पदमा पुगिसकेपछि त्यसको गरिमा राख्नु र इमान्दार हुनु अनिवार्य हो ।
यति मात्र होइन, अर्कोपटक पनि चुनाव आउँछ । हामी प्रतिस्पर्धीहरूले पनि हेरिरहेका छौं । अहिलेको कार्यकालमा त झन् सहज छ नि पहिलेको भन्दा । पहिलो कार्यकालकाले केही आधार त तयार पारिदिएका छन् । हेर्नोस् त स्वतन्त्र जितेका अन्य स्थानीय तहको पहिचान, त्यहाँ गर्ने काम र त्यसको चर्चा तर हाम्रोमा पहिचान नै गुम्यो । अघिल्लोपटक बरु लडे पनि दुवै महिला मेयर र उपमेयर हुनुहुन्थ्यो । केही काम भएका पनि थिए तर यो २ वर्षको अवधिमा अहिलेको नेतृत्वले जनताले अनुभूत गर्ने गरी काम भएको देखिएको छैन ।
जनताले यसको मूल्यांकन त पक्कै गर्लान् । राजनीति भनेको सेवा हो । अब जनता पनि सच्चिँदै गएका छन् । हिजोको जस्तो मेरो पार्टीको मान्छे, मेरो आफन्त भनेर जनताले पत्याउनेवाला छैनन् । त्यसैले आगामी दिनमा पनि आफ्नो छवि स्वच्छ राख्ने हो भने अहिले पदमा बसेकाहरूले आफूले पाएको जिम्मेवारीबारे सोच्नपर्छ ।