काठमाडौं । रिक्त रहेको सचिव पदका लागि तिन जनाको नाम सिफारिस गरिएको छ ।
सचिव पद रिक्त रहेको दुई साता बितिसक्दा पनि त्यता तिर कसैको ध्यान नजाँदा सोमबार भने सचिवका लागि तिन जना सह-सचिवको नाम सिफारिस गरिएको हो ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा सोमबार सिंहदरबारमा बसेको बढुवा सिफारिस समितिको बैठकले रिक्त सचिव पदमा बढुवाका लागि लक्ष्मी बस्नेत, दिनेश घिमिरे र घनश्याम उपाध्यायको नाम सिफारिस गरेको छ ।
घिमिरे छेन्दु महावाणिज्य दूतावासमा कार्यरत छन् भने बस्नेत महिला तथा बालबालिका मन्त्रालय र उपाध्याय काठमाडौं प्रमुख जिल्ला अधिकारी रहेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव डा. वैकुण्ठ अर्याल मुख्य सचिवमा नियुक्त भएपछि उक्त पद रिक्त रहेको थियो । सोही रिक्त पदका लागि उनीहरूको नाम सिफारिस गरिएको हो । तर अझै पनि एउटा सचिव पद रिक्त रहेको छ ।
मङ्गलवार (आज) बस्ने मन्त्रिपरिषद् बैठककाे नियमित बैठकले सिफारिस गरिएका मध्येबाट एक जनालाई सचिवमा बढुवा गर्ने निर्णय गर्ने छ ।


























