काठमाडौं । भाेलिकाे माघे सङ्क्रान्तिका लागि कन्दमूल जात तरुल, पिँडालु, सखरखण्डलगायत किन्नेकाे भिड लागेकाे छ ।
विशेषगरी कालीमाटी फलफूल तथा तरकारी बजारमा तरुललगायतका कन्दमूलको कारोबार बढेको छ । त्यस्तै, बल्खुमा पनि व्यापारीलाई चटारो छ ।
बजारमा अहिले तराईबाट आउने घर–तरुल, हात्तीपाइले तरुल, सिमल तरुल, वन तरुल, पतालेतरुलकाे माग बढेकाे समितिले जनाएकाे छ।
समितिका अनुसार काठमाण्डाै उपत्यकामा मुख्यगरी सर्लाही, नवलपरासी, मकवानपुर, धादिङ, सिन्धुली, गोरखा, पाल्पा, अर्घाखाँची, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटबाट तरुल भित्रिने गरेकाे छ ।
आज तरूलको भाउ किलोमा १० रूपैयाँले घटेको समितिले जनाएकाे छ । आज तरूलको भाउ प्रतिकिलो ६० देखि ७० रूपैयाँ रहेकाे छ। हिजो तरूलको भाउ ७० देखि ८० रूपैयाँ प्रतिकिलो थियो ।
आज पिँडालु र सखरखण्डकाे भाउ किलोको ७० देखि ८० रूपैयाँ तोकिएको छ । माघेसङ्क्रान्तिमा कन्दमूल, घ्यु, चाकुलगायत खाने चलन छ ।