काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दुर्घटनाका त्रुटि पत्ता लगाउन ५ सदस्यीय कार्यदल गठन गरेको छ ।
सवारी दुर्घटनाबाट मानवीय, आर्थिक र भौतिक क्षति बढेपछि मन्त्री प्रकाश ज्वालाले भौतिक र प्राविधिक पक्षका त्रुटिहरु पत्ता लगाउन कार्यदल गठन गरेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो दुई दिनमा सवारी साधन दुर्घटनामा १९ जनाको ज्यान गएपछि भौतिक तथा प्राविधिक त्रुटि पत्ता लगाउन कार्यदल गठन गरिएको मन्त्रालयका सहसचिव रघुराम विष्टले बताए । सवारी दुर्घटनाका त्रुटि र कमजोरी पत्ता लगाउन मन्त्रालयका पूर्वसचिव धनबहादुर तामाङको अध्यक्षतामा पाँच सदस्सीय कार्यदल गठन गरिएको हो ।
कार्यदललाई विगत एक महिनामा भएका सवारी दुर्घटना, विगतमा भएका कार्यदलका प्रतिवेदन र स्थलगत अध्ययन गर्न, सवारी दुर्घटनाका कारण र पक्षको विश्लेषण गर्न, सवारी दुर्घटना न्यूनिकरण गर्न संस्थागत र प्राविधिक पक्षको विश्लेषण गर्ने गरी जिम्मेवारी दिइएको छ ।
सवारी दुर्घटना न्यूनिकरणका अल्पकालीन, मध्यकालीन र दिर्घकालीन उपायहरु सुझाउन पनि कार्यदललाई जिम्मेवारी दिइएको सहसचिव विष्टले बताए ।
आज नै बसेको सडक सुरक्षा परिषद् बैठकले पनि चार वटा निर्णय गरेको छ । बैठकले सवारी दुर्घटनाको अध्ययन समिति बनाउने, सडक सुरक्षा विज्ञहरुको सूची तत्काल तयार गर्ने, तालिम र जनचेतनामा तत्काल काम थाल्ने र सडक सुरक्षा सम्बन्धमा बनेको विधेयकउपर समितिमा पठाउने निर्णय गरेको छ ।