धनुषा । जनकपुरधामको गोदावरी हस्पिटलमा उपचारको क्रममा एक युवकको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् । अस्पताल र मृतक पक्षबीच मिलापत्र गरेपछि यो घटना साम्य भएको छ ।
धनुषाको धनौजी गाउँपालिका लखौरीका ३२ वर्षीय पपु राउतको सोमबार साँझ उपचारको क्रममा मृत्यु भएको थियो ।
अत्यधिक पेट दुखेपछि आइतबार बिहान १० बजे पपुलाई अस्पताल भर्ना गरिएको थियो । भर्ना भएकै बेलादेखि समय समयमा चिकित्सक र नर्सले बेवास्ता गरेको र यहीँ ठिक हुन्छ भन्दै अरू अस्पतालमा लैजान नदिँदा मृत्यु भएको आफन्तजनको आरोप थियो ।
लगत्तै मृतकका आफन्तले हस्पिटलमा तोडफोड गरेपछि अवस्था तनावग्रस्त बनेको थियो । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको थियो । तोडफोडबाट सामान्य क्षति भएको अस्पतालका सञ्चालक डा। अशोक अधिकारीले बताए ।
परिवारजनले क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरेका थिए । मध्य राति उपचार खर्च मिनाहा र पाँच लाख रुपैयाँ अस्पताल पक्षले उपलब्ध गराउने सहमति भएपछि आफूहरूले शव बुझेको मृतकका जेठान दीपक पटेलले बताए ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले आपसी सहमतिमा परिवारजनले शव बुझेको बताए ।