काठमाडौं । शान्तिनगर गाउँपालिकाशान्तिनगर गाउँपालिका–२ का वडाध्यक्ष सुनिल वलीले घोराहीमा पत्रकार सम्मेलन गरेका छन्।
दस दिन प्रहरी हिरासतमा बसेर सोमबार बेलुका छुटेका वलीले बेलुका अबेर नेपाल पत्रकार महासङ्घ दाङ शाखाको कार्यालयमा पत्रकार सम्मेलन गरी आफूले अनियमितता रोक्न खोज्दा सुनियोजित रूपमा फसाइएको भन्दै आफ्नो बचाउ गरेका थिए ।
अध्यक्ष वलीले योजनाको डुब्लिकेसनको आशङ्कामा कुरा उठाउँदा आफूलाई फसाइएको बताए ।
उनले भने, ‘वडामा हुने अधिकांश विकास निर्माणका कामहरू वडाध्यक्षको सिफारिसमा हुने गरेको छ, तर जनकल्याण माध्यामिक विद्यालयमा पुस्तकालय स्थापना गर्ने योजनाहरू कसरी पर्यो भनेर मैले बुझ्न मात्रै खोजेको थिए । तर कर्मचारीले नै वडाध्यक्ष भनेको को हो ? भनेर अपमान नै गरेपछि सामान्य विवाद भएको हो।’
त्यही सामान्य विषयलाई लिएर राजनीतिक पहुँचका आधारमा आफूलाई फसाइएको उनले बताएका थिए ।
स्वतन्त्र रूपमा निर्वाचित वडाध्यक्ष वलीले असार ७ गते दिउँसो ४ बजेतिर गाउँपालिकाको कार्यालयमा प्रवेश गरी शिक्षा अधिकृत सुमन पाण्डेलाई हातपात गरेका थिए।
सोही आरोपमा फरार रहेका वलीलाई घोराही उपमहानगरपालिका–१० बाट असार ८ गते प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता नायब उपरीक्षक राजन गौतमले जानकारी दिएका थिए ।
उनले वलीले आफूले वडामा कुनै पनि भ्रष्टाचार नगरेको र गर्न पनि नदिएकाले आफूमाथि पटक(पटक जनप्रतिनिधि र कर्मचारीहरूले हतोत्साहित गराउने प्रयास गरेको आरोप पनि लगाए।
शान्तिनगर गाउँपालिका शिक्षा शाखा प्रमुख समुन पाण्डेयले आफूमाथि हातपात र दुर्व्यवहार भएको भन्दै प्रहरीमा वडाध्यक्ष विरुद्ध किटानी जाहेरी दिएको हुँदा प्रहरीले उनलाई पक्राउ गरेको थियो। वली सोमवार धरौटीमा रिहा भएका हुन्।