काठमाडौं । पाकिस्तानमा हुन गइरहेको राष्ट्रिय निर्वाचनका लागि सोमबारदेखि प्रचारप्रसार शुरु गरिएको छ ।
अदालतको फैसलाले पूर्व प्रधानमन्त्री इमरान खानको विपक्षी दललाई निर्वाचनको दौडबाट बाहिर धकेलेपछि अन्य राजनीतिक दलले निर्वाचनलाई तीव्रता दिन प्रचारप्रसार अभियान थालेका छन् ।
विश्लेषकहरूका अनुसार ३ पटक प्रधानमन्त्री भएका नवाज शरीफलाई समर्थन गर्दै खानलाई बहिष्कार गर्ने योजना बनिरहेको र सेनाको त्यसमा हात रहेको विभिन्न अड्कलबाजी भइरहेका छन् ।
सोमबार मात्रै शरीफको पाकिस्तान मुस्लिम लिग (नवाज) पार्टीले पूर्वी शहर ओकारामा चुनावी अभियान शुरु गर्दा हजारौं समर्थकहरू उपस्थित थिए ।
‘यस देशलाई माया गर्नेहरूले नवाज शरीफ बाहेक अरू कसैलाई भोट दिन सक्दैनन्,’ उनकी छोरी मरियम नवाज शरीफ, पीएमएल–एन पार्टीकी उपाध्यक्षले भनेकी छन् ।
यसैबीच खान (देशका सबैभन्दा लोकप्रिय राजनीतिज्ञ) जेलमा परेका छन् र निर्वाचनमा भाग लिन प्रतिबन्धित छन् ।
शनिबार सर्वोच्च अदालतले उनको पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीलाई चुनाव चिह्न क्रिकेट ब्याट अस्वीकार गरेर नयाँ झट्का दिएको छ ।
यस कदमले पीटीआईका उम्मेद्वारहरूलाई स्वतन्त्र रूपमा उम्मेदवार हुन बाध्य पारेको छ भने लाखौं निरक्षर मतदाताहरूलाई फेब्रुअरी ८ को चुनावमा पार्टीका उम्मेदवारहरूलाई चिन्न गाह्रो पर्ने देखिन्छ ।
आईतबार, दक्षिणी शहर कराँचीमा आयोजित पीटीआई भेलालाई प्रहरीले आयोजकहरूलाई गिरफ्तार गर्दै तितरबितर पारेको छ ।
शुरुमा नोभेम्बरमा हुने भनिएको निर्वाचन आयोगले नयाँ जनगणनापछि निर्वाचन क्षेत्र पुनः निर्धारण गर्नेर बताएपछि ढिलाइ भएको छ ।
विश्लेषकहरूले खान र पीटीआईको सम्भावनालाई ध्वस्त पारेर सैन्य शक्ति जुर्मुराउन सक्ने प्रक्षेपण गरेका छन् ।
‘यो विवादास्पद चुनाव हुन गइरहेको छः एउटा पार्टीले यसलाई लोकतन्त्रको पूर्ण निषेधको रूपमा हेर्छ,’ टफ्ट्स विश्वविद्यालयको इतिहासकी प्राध्यापक आयशा जलालले एएफपीलाई बताएकी छन् ।
उता नवाज शरीफ भने सोमबारको र्यालीमा देखा परेनन् र गत वर्षको अन्तमा बेलायतमा स्वयम् निर्वासनबाट फर्किएदेखि सार्वजनिक कार्यक्रममा प्रायः अनुपस्थित छन् ।