नुवाकोट । अर्थमन्त्री डा. प्रकाशरण महतले आगामी आर्थिक वर्षदेखि संघीय सरकारले ३ करोडभन्दा माथिको योजना मात्रै कार्यान्वयन गर्ने बताएका छन् ।
नुवाकोटको शिवपुरी गाँउपालिका–५ शेराबगरमा ‘गोरु जुधाइ प्रतियोगिता’का अवसरमा आज सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संघीय सरकारले ३ करोडभन्दा माथि र प्रदेश सरकारले १ करोडभन्दा माथिको योजना मात्रै सञ्चालन गर्ने नयाँ नियम बनाइएको जानकारी दिए ।
‘३ तहमा रहेका सरकारले के–कस्तो योजना कार्यान्वयन गर्ने भन्ने अस्पष्टता अन्त्य गर्दै योजनामा बजेटको आकारको सीमा तोकिएको हो,’ उनले भने, ‘ससाना र टुक्रे योजना निरुत्साहित गर्न कुन सरकारले कति आकार बजेटको योजना कार्यान्वयन गर्ने भन्ने नयाँ नियम बनाइएको छ । तोकिएको आकारभन्दा कमको योजना ल्याउन पाइन्न भने त्योभन्दा बढी आकारको ल्याउन प्रोत्साहन गरिनेछ ।’
उनले राज्य पुनःसंरचना पश्चात अधिकार सम्पन्न ३ तहको सरकारको स्थापना भएकाले जनताको माग, गुनासो र समस्याको समाधान गर्न तीनै तहको सरकार सक्रिय भएर लागेको बताए । योजना, कार्यक्रम र बजेटको कार्यान्वयनमा ३ तहमा रहेका सरकारले जनताको समस्याको प्राथमिकीकरण गरेर सम्बोधन गर्दै आइरहेकाले सोहीअनुसार विकासको गति पनि तीब्र गतिमा रहेको उनको भनाइ छ ।
‘संघीय, प्रदेश र स्थानीय तहले कुन–कुन योजनालाई सम्बोधन गर्ने भन्नेमा समन्वयन गरेर योजना कार्यान्वयनमा लागि रहेका छौं,’ उनले भने, ‘नुवाकोटसहित प्रत्येक जिल्लामा सम्बन्धित क्षेत्रको प्रतिनिधिसँगको समन्वयनमा तर्जुमा गरिएका योजनाको प्रभावकारी कार्यान्वयनमा ३ तहको सरकार प्रतिबद्ध छ ।’
नुवाकोटमा पछिल्ला वर्षमा बजेटको आकार घटेको र बहुवर्षीय योजनामा सुनिश्चित भएका योजना अपूर्ण रहेकाले यस वर्ष अन्य जिल्लाको भन्दा बढी बजेट विनियोजन गरिएको उनले जानकारी दिए । ‘सडक, सिँचाइ, खानेपानी लगायत बजेटको आधार बढाइएको छ । अझै अपुग योजनालाई आगामी आर्थिक वर्षको बजेटमा सम्बोधन हुनेछ,’ उनले भने ।