काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्र जोगाउनुपर्नेमा जोड दिएका छन् ।
ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा नयाँ केन्द्रीय सदस्यलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउँदै अध्यक्ष ओलीले नेपाली समाज, राजनीति, अर्थतन्त्र, संस्कृति हरेक क्षेत्रमा आक्रमण भइरहेको बताउँदै सद्भाव र एकता जरुरी रहेको बताए ।
उनले मुलुकको विकासका लागि सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिए ।
अध्यक्ष ओलीले पार्टीभित्र अराजकता र अनुशानहीनता स्वीकार्य नहुने स्पष्ट पार्दै आगामी वर्ष पार्टीका लागि शुद्धीकरण र सुदृढीकरणको वर्ष हुने बताए । उनले नयाँ केन्द्रीय कमिटी सदस्य वैचारिक र सूचनाका दृष्टिले निरन्तर अध्ययनबाट आफूलाई अद्यावधिक गर्न, व्यवहारमा अनुकरणीय बन्न र हरेक दृष्टिकोणबाट योग्यताका साथ पार्टीको निर्णायक तहमा भूमिका निर्वाह गर्न आग्रह गरे ।
अध्यक्ष ओलीले केन्द्रीय सदस्य तुलसीप्रसाद न्यौपाने (संखुवासभा) रामअवतार यादव (सिराहा) केशवराज पाण्डे (नुवाकोट), विनोद शाह (दैलेख), दामोदर भण्डारी (बैतडी) र दीपक कार्की (झापा) लाई शपथ ग्रहण गराए । त्यस अवसरमा महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल लगायतको उपस्थिति थियो ।
गत पुस २० गते बसेको सचिवालय बैठकले उनीहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको थियो ।