काठमाडौं । चलचित्र अभिनेता तथा निर्देशक नीर शाहले नेपाली चलचित्रले स्वदेशमा प्रदर्शनको लागि असहजता महसुस गरेको सुनिनु दुस्खद रहेको बताएका छन् ।
नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुन गइरहेको सातौँ ‘नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले सम्बन्धित निकायले प्रदर्शनमा सहजता नदिलाए विस्तारै निर्माताको मनोबल घट्ने बताए ।
“हामीकहाँ हाम्रो चलचित्र देखाउने चलचित्र भवन नै छैनन् । ती विदेशी प्रदर्शन गर्न खोलिए जस्तो महसुुस हुन्छ । अनि हाम्रो उद्योग कसरी हुन्छ र हामीले कसरी विकास गर्छौँं ”, अभिनेता शाहले भने, “हामीले वर्षमा एक सय हाराहारीमा चलचित्र निर्माण गरिरहेका छौँ । हामीलाई लगानी गर्न बैंकलगायतका वित्तीय संस्था तयार छैनन् । त्यसैले त्यसतर्फ ध्यान नदिदासम्म हामीले रुपान्तरण गर्न सक्दैनौँ ।” उनले चलचित्र राष्ट्रिय उद्योग नभइए कर्मका रुपमा रहेको भन्दै चिन्ता व्यक्त गरे ।
“चलचित्रकर्मीले सत्यहरिश्चन्द्रदेखि आजको दिनसम्मको यात्रा तय गरिसक्दा वित्तीय व्यवस्थापन गर्न सक्ने क्षमता अभिवृद्धि गर्न सक्नुपथ्र्यो, त्यो गर्न सकिएको छैन । यो सबैभन्दा कमजोर पक्ष हो हाम्रो चलचित्र उद्योग नभएर कर्म मात्रै भएको छ”, शाहले भने । उहाँले नेपालको ३३ जिल्लामा चलचित्र भवन नरहेको बताउँदै भएका भवनमासमेत नेपाली चलचित्र प्राथमिकतामा नपर्नु दुःखद रहेको बताए । बजारका दृष्टिकोणबाट पनि चलचित्र उद्योगलाई निकै सङ्कुचित ढङ्गले खुम्चाएर राखेको अवस्था रहेको अभिनेता तथा निर्देशक शाहको भनाइ थियो ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले आफूले चाहेर पनि सोचेजस्तो काम गर्न नसकेको स्वीकार्दै नीति बनेपछि समस्या समाधान हुने बताए । “म पनि यसअगाडि आफ्ना समस्या लिएर बोर्ड पुग्ने गरेको थिएँ । आफूले नेतृत्व गरेपछि यहाँ रहेका समस्या बुझेको छु । विद्यामान समस्या समाधानका लागि प्रभावकारी नीति आवश्यकपर्ने भएकाले त्यसमा जोड दिइरहेको छु”, उनले भने, “नेपाली चलचित्र विदेशी झैँ प्रतिस्पर्धामा उत्रिन विदेशी लगानी ल्याउनेमा जोड दिइरहेका छौँ । बोर्डले शतप्रतिशत नभए पनि केही लगानी ल्याउने वातावरण निर्माण गर्न पहल गरिरहेको छ ।”
अध्यक्ष केसीले प्रस्तावित चलचित्र नीति चलचित्रसँग सम्बन्धित संस्थासँग छलफल गरेर छिट्टै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पेस गर्ने बताए । नेपालमा स्वदेशी चलचित्र प्राथमिकतामा नपरेको र चलचित्र भवनले सो सङ्ख्यामा भेद्भाव गरेको भन्दै बेलाबखतमा आन्दोलन भए पनि त्यसले उचित नतिजा दिन सकेको छैन ।