काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले विश्वले सामना गरिरहेका साझा चुनौती र समस्याको विश्वव्यापी र क्षेत्रीय समाधान खोज्न सहयोग आवश्यक रहेकोमा जोड दिएका छन् ।
युगान्डाको राजधानी कम्पालामा भइरहेको असंलग्न आन्दोलन (नाम) को मन्त्रिस्तरीय बैठकलाई आज सम्बोधन गर्दै उनले भने, ‘हामी कोभिड–१९ महामारीको निरन्तर प्रभाव, जलवायु परिवर्तन, द्वन्द्व, खाद्यान्न र ऊर्जा लगायतमा भएको मूल्यवृद्धि, ऋणको बोझ लगायतका संकट र चुनौतीको सामना गरिरहेका छौं । यसका लागि विश्वव्यापी र क्षेत्रीय समाधान खोज्न सहयोग आवश्यक छ ।’
मन्त्री साउदले विश्वव्यापी समृद्धि समान रूपमा बाँडफाँट गर्न र समावेशी विश्वव्यापी व्यवस्थाका लागि नामले सामूहिक आवाजलाई जोड दिनुपर्ने उनको भनाइ थियो । नाम आन्दोलन ध्रुवताको पूर्वाग्रहबाट मुक्तिका लागि एक शक्तिशाली राजनीतिक आवाज बनेको उल्लेख गर्दै उनले नाम १२० देशको प्रतिनिधित्व भएको सबल संगठनका रूपमा रहेको र यसमा विश्वको करीब ६० प्रतिशत जनसंख्या रहेको उल्लेख गरे ।
नाम द्वन्द्वदेखि जलवायु परिवर्तन, आर्थिक सामाजिक असमानता, भोक, रोग लगायत चुनौती र समस्याको विश्वव्यापी समाधान खोज्ने सबल संगठन भएको उनको भनाइ थियो ।
मन्त्री साउदले संयुक्त राष्ट्रसंघ बडापत्र र अन्तर्राष्ट्रिय कानूनको रक्षा गर्दै नामले समस्या र चुनौतीको शान्तिपूर्ण समाधानमा निर्णायक भूमिका खेल्नुपर्नेमा जोड दिए । उनले नामले दीगो विकास लक्ष्य र अन्य अन्तर्राष्ट्रिय रुपमा निर्धारण गरिएका विकास लक्ष्यका उपलब्धिका साथै जलवायु न्याय र जोखिममा रहेका मुलुकको हितमा ध्यान केन्द्रित गर्नुपर्ने बताए ।
मन्त्री साउदले नामको उद्देश्य र सिद्धान्तप्रति नेपालको प्रतिबद्धता दोहोर्याउँदै यसलाई नेपालको संविधानले विदेश नीतिका रूपमा आत्मसात् गरेको अवगत गराए । ‘हामी सधैं स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गरेका छौं,’ मन्त्री साउदले भने ।
असंलग्न आन्दोलन (नाम) को १९औं शिखर सम्मेलन माघ ५ देखि ६ गतेसम्म युगान्डा गणतन्त्रको राजधानी कम्पालामा हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शिखर सम्मेलनमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भोलि माघ ४ गते त्यसतर्फ प्रस्थान गर्दैछन् ।
शिखर सम्मेलन अघि आजदेखि २ दिने मन्त्रिस्तरीय बैठक सुरु भएको छ । शिखर सम्मेलनको मन्त्रिस्तरीय बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री साउद माघ १ गते राति नै त्यसतर्फ प्रस्थान गरेका थिए । नेपाल असंलग्न आन्दोलनको संस्थापक सदस्य हो र यसको स्थापनादेखि नै सबै नाम शिखर सम्मेलनमा सक्रियरूपमा सहभागी हुँदै आएको छ । असंलग्नताको सिद्धान्त नेपालको परराष्ट्र नीतिको आधारभूत सिद्धान्तमध्ये एक हो ।