विसं २०५९ अघि संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयका सह-सचिव चक्रबहादुर बुढा शिक्षण पेशामा आबद्ध थिए । बुवाले छोरो मास्टर बनेको हेर्ने रहर गरेपछि पढाउनमै खुसी खोजे उनले । स्नातक अध्ययन गर्दागर्दै उनले २०५६/५७ मा सरस्वती माध्यमिक विद्यालयमा अध्यापन गराए । बुवाले छोरो हेडमास्टर भएको हेर्न रहर गरेपछि २०५८ देखि ०५९ कार्तिकसम्म शंकर भवन माध्यमिक विद्यालयमा प्रध्यानाध्यापक भएर उनले पढाए ।
जाजरकोट जिल्ला शिवालयमा जन्मिएका बुढा विद्यालयको हेडमास्टरको पद सम्हाल्दै किताब पढ्ने रहर बसाल्ने क्रममा मामा प्रिथीबहादुर बुढाले नियमित भेटिरहन्थे उनलाई । मामाले पढाउनभन्दा पनि निजामती कर्मचारी बन्नुपर्छ भनेर उपदेश दिइरहन्थे । उनी हाँसेर टारिदिन्थे । हेडमास्टर हुनु पनि आफैंमा ठूलो प्रगति थियो ।
तर उनका मामाले भनेको कुरा दिमागमा गहिरो बसेको थियो । मामाले निजामतीको रस बसालिदिएपछि प्रध्यानाध्यापक केहीजस्तो पनि लागेन उनलाई । त्यसपछि उनी शिक्षण पेशामा खुसी हुन सकेनन् । मामाले दिएको यादगार उपदेश नै उनका लागि निजामतीमा प्रवेश गर्ने द्वार बनिदियो ।
मामाले भनेको सपना पूरा भयो । बुढा आफ्नै जिल्लाको जिल्ला शिक्षा कार्यालयमा प्राविधिक सहायक भएर नियुक्त भए । उनी भन्छन्, ‘मैले परीक्षाको प्रेसर लिइनँ, किनभने मेरो जागिर थियो । त्यो पनि अधिकृत लेभलको । विद्यालयको हेडसर थिएँ म । अन्य विद्यार्थीलाई झैँ यसपाली राम्रो भएन अर्कोपटक राम्रो दिन्छु भन्ने लागेको थियो । प्रश्न सजिलो थियो तर मैले राम्रोसँग दिए र पास भएँ ।’
प्राविधिक सहायक परीक्षा
२०५९ सालमा सुर्खेतबाट प्राविधिक सहायकको परीक्षा दिएका बुढा सम्झिन्छन्, ‘साथी स्व. मोहन खड्कामार्फत् लोकसेवा खुलेको थाहा पाएपछि तीनजना साथीसँग मिलेर आवेदन दिएका थियौं जहाँ केही बाहिरका मानिस थिए भने सोही क्षेत्रका मानिस बढी थिए । ११ सय विद्यार्थी सहभागी रहेको उक्त परीक्षाको लिखितमा मसमेत गरी १३ जना उतीर्ण भएका थियाैं जबकि माग संख्या १० जनाको मात्रै थियो ।’
मानिसको जीवनमा अन्यौलता त हुन्छ नै । अझ लोकसेवा आयोगको परीक्षामा पास हुने आत्मविश्वास जति भए पनि एक प्रकारको ढुकढुक हुन्छ नै । अझ बुढा त परीक्षाको आवेदन दिएपछि मात्र पढ्न थालेका थिए । त्यसैले त उनलाई पनि लागेको थियो- 'अन्तर्वार्तामा छानिन्छु कि छानिन्न हाेला? ‘तयारी गरेर दिएको थिएँ तर त्यति धेरै मिलेको थिएन । र पनि म ८ नम्बरमा पास भएँ’, उनले ती दिन सम्झिए ।
खासमा बुढालाई अध्ययन गर्ने बानी लगाइदिएको थियो विद्यालय निरीक्षकले । हेडमास्टर भइसकेको मान्छेले यत्तिको सपना त देख्नैपर्यो भन्ने उनलाई लागेको थियो । त्यसको लागि नयाँ-नयाँ अध्ययन गर्नुपर्थ्याे । उनले पनि त्यही बानी बसाले ।
भन्छन्, ‘विद्यालय निरीक्षक त बन्नुपर्छ भन्ने सोच आइरहन्थ्यो, त्यसो हुँदा पुस्तक पढ्थें । जस्तै: शिक्षा ऐन, संविधानको अध्ययन इत्यादि । ५० वटा टिक लगाउने प्रश्न हुन्थ्यो, जसमा मेरो ४२ वटा मिलेको जस्तो मलाई लाग्छ ।’
त्यो समयमा जिल्लाभरि एउटा मात्र फोन थियो र बुढा पास भएको खबर त्यहीं आएको थियो । उनी विगतका दिन सम्झिन्छन्, ‘तपाईंको नाम निस्कियो भनेर शिक्षा कार्यालयको स्रोत व्यक्तिले खबर गरे तर मलाई विश्वास लागेन । त्यसैले सुर्खेतको छिन्चुमा पुगेर लोकसेवा कार्यालयमा फोन लगाएँ । उताबाट सम्पूर्ण विवरण सोधेपछि मैले भनें । पास हुनु भएको छ भन्ने खबर आयो । त्यसपछि त खुसीको सीमै रहेन नि ।’
प्राविधिक सहायकका लागि लिखितमा नाम निस्किएको थाहा पाएको एक हप्तापछि बुढालाई सुर्खेत डाकियो । होटलमा बसेर उनले अन्तर्वार्ताका लागि तयारी गरे । उनीसँगै प्रतिस्पर्धा गरिरहेकाले ५० मा ५० मिलाएको भनिरहँदा उनको मन चिसो भएको थियो । किनभने उनको अनुमानमा ४३ उत्तर मात्र मिलेको थियो । नतिजा आउने दिन अचम्म भयो । ५० आउँछ भनेर ठोकुवा गर्ने व्यक्तिको १३ नम्बरमा नाम थियो भने बुढाकाे ८ नम्बरमा नाम निस्कियो ।
मामाले भनेको सपना पूरा भयो । बुढा आफ्नै जिल्लाको जिल्ला शिक्षा कार्यालयमा प्राविधिक सहायक भएर नियुक्त भए । उनी भन्छन्, ‘मैले परीक्षाको प्रेसर लिइनँ, किनभने मेरो जागिर थियो । त्यो पनि अधिकृत लेभलको । विद्यालयको हेडसर थिएँ म । अन्य विद्यार्थीलाई झैँ यसपाली राम्रो भएन अर्कोपटक राम्रो दिन्छु भन्ने लागेको थियो । प्रश्न सजिलो थियो तर मैले राम्रोसँग दिए र पास भएँ ।’
सहायक प्राविधिकका रूपमा निजामती कर्मचारीमा प्रवेश गरेका बुढा अधिकृत, उपसचिव हुँदै हाल सह-सचिवको पद सम्हालिरहेका छन् । विभिन्न पदोन्नति र स्थानान्तरणलाई स्वागत गर्दै बुढाले राष्ट्रिय योजना आयोग, सल्यान जिल्ला समन्वय समिति, राष्ट्रपतिको कार्यालय, प्रमुख जिल्ला अधिकारी (हेटौंडा र कास्की), अख्तियार कार्यालय प्रमुख (इटहरी), गृहमन्त्रालय प्रवक्ता, आर्थिक मामिला प्रमुख (कर्णाली प्रदेश), अर्थ मन्त्रालय, भन्सार विभाग महानिर्देशक र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयको सह-सचिव गरी विभिन्न भूमिका निभाइसकेका छन् ।
अन्यौलतामा पार गरेको परीक्षा
कहिलेकाहीँ गरिरहेको काम दोहोर्याउन नमजा लाग्छ । अप्ठ्यारो हुन्छ । अझ हेलचक्राइ हुन्छ । बुढालाई पनि अधिकृत स्तरको परीक्षा दिन रुचि थिएन । भन्छन्, ‘मेरो साथी पुष्पराज शाहीले मलाई हौसला प्रदान नगरेको भए परीक्षा छोडेर घर फर्किन्थें हुँला ।’
साथीको आग्रहले बुढालाई पढ्न हौसायो । उनै सहसचिव पुष्पराजको कोठामा बसेर परीक्षाको तयारी गरे । परीक्षा दिए । पहिलो पत्रको परीक्षा चित्त बुझ्दो लागेन उनलाई । ‘आफूले राम्रो गरें भन्ने लागेन’, उनले ती दिन सम्झिए’, बिदा पनि धेरै नै भइसकेको थियो । त्यसैले बिदा खर्च गर्नुभन्दा फर्किन्छु र राम्रोसँग तयारी गरेर अर्कोपटक दिने योजना बनाएको थिएँ । तर पुष्पराजले ‘तपाईंको परीक्षा राम्रो भएको छ, बीचमा छोडेर नजानूहोस्’ भनी मलाई हौस्याउनु भयो ।’
अध्ययन गर्दा समय व्यवस्थापन गर्न पनि आवश्यक ठान्छन् बुढा । समय व्यवस्थापन गर्दा १०० पूर्णांकलाई ३ घण्टा दिइएको छ भने १० नम्बरलाई १८ मिनेट दिनुपर्छ । त्यही अनुसार समय पनि विभाजित गर्नुपर्छ । १८ मिनेट नै प्रयोग गरेर लेख्दा कहिलेकाहीं केही छुट्नसक्छ भन्ने विचार गरेर १८ मिनेटभन्दा २ मिनेट अघि नै सक्ने योजना बनाउनु उचित हुने उनकाे अनुभव छ । भन्छन्, ‘प्रश्न हेर्न, बुझ्न पनि समय लाग्छ र अन्त्यमा सबै पुनः चेक गर्न सके राम्रो हुन्छ ।’
मित्र पुष्पराजको कुराले बुढा परीक्षा दिने निर्णय लिए । त्यसपछि दोस्रो र तेस्रो पत्र निकै राम्रो भयो । यद्यपि नतिजा आइनसकेको हुनाले परीक्षा दिएर जिल्ला फर्किनासाथ उनले अर्को वर्षका लागि तयारी सुरु गरे र नोट बनाउन थाले । परीक्षा भनेको धेरै राम्रो हुनुपर्छ, यतिले पुग्दैन, अझै कमी छ, तयारी पुगेको छैन भन्ने उनलाई लागेको थियो । एक्लै भएमा परीक्षा नदिइ छोडेर हिँड्थे होला तर साथीको करकापले दिएको परीक्षा थियो, जुन नतिजा पासको थियो ।
लोकसेवा, परीक्षा र पढाइ
‘त्यो समय किताब नै कम पाइन्थ्यो । बजारमा तीन-चारवटा पुस्तक भेटिन्थे अझ जिल्लातिर त मुस्किलले’ बुढाले भने, ‘सबैको पढ्ने आ-आफ्नो तरिका हुन्छ । धेरैभन्दा धेरै किताबहरू पढेर नोट बनाउने, त्यसलाई पढ्ने, लेख्ने गर्छन् । कतिपयको पढ्ने मात्रै बानी हुन्छ । कतिको एक्लै पढ्ने बानी हुन्छ । मचाहिं एक्लै पढ्न रुचाउँथें’
अधिकृत स्तरमा परीक्षा तयारी गर्दा सामूहिक पढेका थिए भने नायब सुब्बा, उप-सचिव र सह-सचिवका लागि भने बुढाले एक्लै अध्ययन गरेका थिए । एक्लै पढ्ने, विषयवस्तुबाट गहिरो ज्ञान लिन कोसिस गर्ने, कुनै कुरामा झुक्कियो भने अग्रजलाई सोध्ने गर्थे उनी । लोकसेवामा नाम निकाल्न विद्यार्थीहरूले आफ्नो खानपान र सुताइसमेत बिर्सिएर मिहिनेत गरेको देख्दा उनलाई उदेक लाग्छ । आफू ठीक भए अध्ययन पनि ठीक हुने उनको बुझाइ छ ।
आफू बिरामी भएर, नखाएर, एकोहोरो पढेर पनि लोकसेवा पास नभइने बताउँछन् बुढा । जीवनमा एकपटक मात्र रातको १ बजेसम्म पढेको सम्झिने उनी भन्छन्, ‘जीवनमा एक रातमात्र राति १ बजेसम्म पढेको थिएँ, त्यसपछि जहिले ११ बजे सुत्थें ।
र बिहान ४ बजे उठेर पढ्ने वातावरण सिर्जना पनि गर्न सकेनन् बुढाले । बिहान ६ बजे उठेर पढ्ने भए तापनि उनी आफूले पढेको कुरा बुझ्ने गरी पढ्थे । त्यसका लागि नेपाललाई सुहाउँदो उदाहरणहरू राख्ने, सान्दर्भिक तथा आधिकारिक तथ्यांकहरू राख्ने, कुनै विद्वानका भनाइहरू छन् भने त्यसलाई समेट्ने कोसिस गर्थे ।
संरचना मिलाएर प्रश्नले सोध्न खोजेको अनुभव र त्यसको उचित उत्तर दिन सके पास भइने बुढाकाे अनुभव छ । प्रश्न बुझिसकेपछि प्रश्नको भागहरू थाहा पाउनुपर्ने बताउँछन् उनी । प्रश्नको भाग अनुसारको नम्बर हुन्छ । पहिलो भागको ३ नम्बर र दोस्रोको १० नम्बर हुनसक्छ भन्छन् उनी ।
अध्ययन गर्दा समय व्यवस्थापन गर्न पनि आवश्यक ठान्छन् बुढा । समय व्यवस्थापन गर्दा १०० पूर्णांकलाई ३ घण्टा दिइएको छ भने १० नम्बरलाई १८ मिनेट दिनुपर्छ । त्यही अनुसार समय पनि विभाजित गर्नुपर्छ । १८ मिनेट नै प्रयोग गरेर लेख्दा कहिलेकाहीं केही छुट्नसक्छ भन्ने विचार गरेर १८ मिनेटभन्दा २ मिनेट अघि नै सक्ने योजना बनाउनु उचित हुने उनकाे अनुभव छ । भन्छन्, ‘प्रश्न हेर्न, बुझ्न पनि समय लाग्छ र अन्त्यमा सबै पुनः चेक गर्न सके राम्रो हुन्छ ।’
परीक्षामा सकेसम्म कुनै पनि प्रश्न छोड्न नहुने बुढा बताउँछन् । उनी भन्छन्, ‘प्रश्न छोडेर पास भइँदैन । सबै लेख्ने हो । विषयगतमा नम्बर काटिन्छ भन्ने हुँदैन, टिक लगाउनेमा मात्र त्यो हुन्छ ।'
बुढाका अनुसार कहिलेकाहीँ गलत बुझाइले पनि उत्तर बिग्रिने गर्छ । प्रश्नले एउटा जवाफ मागेको हुन्छ तर विद्यार्थीले आफ्नो हिसाबले बुझ्छन् र त्यहीअनुसार लेख्छन् । विद्यार्थीहरूलाई राम्रो लेखेजस्तो पनि लाग्छ तर प्रश्नले मागेको कुरा लेखेको छैन भने नम्बर पाइँदैन । लोकसेवाको पढाइ र लेखाइको तरिका फरक हुन्छ । त्यो फरकपनलाई महसुस गर्न पनि सक्नुपर्छ ।
‘के लेखेको छ, सटिक लेखेको छ कि छैन, अरूभन्दा राम्रो लेखेको छ कि छैन, अरूभन्दा फरक के छ भन्ने कुरा लोकसेवाको परीक्षामा विचार गरिन्छ’, बुढाले भने, ‘सान्दर्भिकता के कस्तो छ । सुरुदेखि अन्तिमसम्म संरचना मिलेको छ कि छैन भनेर ख्याल गर्नुपर्छ । यी कुराहरू ट्युसन पढेर पाइँदैन, आफैंले निर्माण गर्ने हो । धेरै कुरा सुन्ने, धेरै पुस्तक पढ्ने गर्नुपर्छ तर आफ्नो फरक तरिका बनाउनुपर्छ ।’
बुढाका अनुसार टिकमार्कमा समय कम दिइएको हुन्छ । कम समयमा गर्नुपर्ने र गलत भयो भने नम्बर काटिन्छ भन्ने प्रेसर हुन्छ । मान्छे प्रेसरमा हुने हुनाले अन्यत्र सोच्ने र हेर्ने फुर्सद हुँदैन । परीक्षा दिइसकेपछि सबैलाई ‘मैले सबै मिलाएँ’ भन्ने लाग्छ । किनभने उत्तरहरू सबै उस्ताउस्तै हुन्छन् । जुन पनि ठीक जस्तो लाग्छ र मैले धेरै मिलाएँ जस्तो लाग्छ ।
पढेको कुरा स्मरण गर्नलाई स्वच्छ वातावरण र आफूलाई आनन्द लाग्ने माहोल निर्माण गरेर पढ्नु उचित हुने बताउँछन् बुढा । कसैलाई छलफल गर्दा स्मरण हुन्छ तर छलफल गर्दा डिस्टर्ब हुने उनी बताउँछन् । भन्छन्, ‘मलाई एक्लै पढ्दा आनन्द आउँथ्यो र स्मरण गर्न पनि सजिलो हुन्थ्यो । अरूलाई परीक्षा हलमा प्रवेश गरेपछि पढेको कुरा पनि बिर्सिने हुने रहेछ मलाई भने याद आउँथ्यो । मेरो लागि पढाइ नै ध्यान हो ।’
लोकसेवाको आकर्षण
लोकसेवा निष्पक्ष हुने हुनाले जनसमुदायमा लोकसेवाप्रति आकर्षण रहेको बताउँछन् बुढा । अन्त सोर्स लगाउनु पर्छ, आफ्नो मान्छे नभइ हुँदैन भन्ने धेरैलाई लाग्छ । तर लोकसेवाको विश्वासनीयताकै कारण हजारौं मानिसहरू यसप्रति आकर्षित हुने गरेका छन् ।
०००
लोकसेवालाई निजामती सेवाको संरक्षक, योग्यता प्रणालीको संरक्षक पनि भन्ने गरिन्छ । निजी क्षेत्रले दिने पारिश्रमिकजस्तो निजामती कर्मचारीले नपाएता पनि यसको आफ्नै खालको प्रतिष्ठा हुने गरेको बताउँछन् बुढा ।
‘सरकारको मानो खाएर, सरकारी सेवा सुविधा लिएर जनताको सेवा गर्नु आफैँमा गर्वको विषय हो’, उनले भने, यसमा भविष्य सुरक्षित हुने हुनाले पनि मानिसहरूमा निजामती कमर्चारी बन्ने चाहना हुन्छ ।’
लोकसेवा केन्द्रमा केन्द्रित भएकोमा बुढा चिन्ता व्यक्त गर्छन् । हुन त प्रत्येक प्रदेश र अन्य स्थानमा यसका कार्यालयहरू छन् र पनि दुर्गम क्षेत्र, तराईको कोर क्षेत्रमा यसको पहुँच नपुगेको हो कि जस्तो लाग्छ उनलाई ।
‘पढाइ भएका, क्षमता भएका, चाहना भएका व्यक्ति पनि आर्थिक कारणले यसमा सहभागी हुनबाट वञ्चित हुन पुग्छन्’, बुढाले भने, ‘प्राविधिक शिक्षाको परीक्षा दिँदाको समयमा जुम्लाका छायादत्त चौलागाईंले जुम्लाबाट सुर्खेत आएर परीक्षा दिएर फर्किन २० हजार लाग्थ्यो र अहिले पनि विद्यार्थीका लागि २० हजार धेरै नै हो ।’
विद्यार्थीहरूलाई लक्षित गरेर लोकसेवाले आफ्नो क्षेत्र विकास गरिदिए, उचित तरिका र माध्यमले सूचना प्रवाह गरिदिए सबैको पहुँचमा लोकसेवा पुग्नसक्ने थियो र यस क्षेत्रमा थप प्रतिस्पर्धात्मक वातावरण सिर्जना गर्नुपर्नेमा जोड गर्छन् बुढा ।
जीवनको २१ वर्ष निजामती कर्मचारी भएर बिताएका बुढा भन्छन्, ‘लोकसेवा भनेको सरकारको मुटु हो । सरकारको नीतिलाई कार्यान्वयन गर्ने, नीति निर्माणलाई सहयोग गर्ने र जनतामा सरकारको छाप सकारात्मक पार्ने महत्त्वपूर्ण संयन्त्र भएकाले यसलाई सुधार गरेर लैजानु पर्छ ।’