काठमाडौं । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा थैलीमा रहेको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटाउने निर्णय गरेको छ ।
बोर्डका सूचना अधिकारी ओमकुमारी कँडेलले बीमितको आर्थिक अवस्थालाई मध्यनजर गर्दै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय गरेको बताए । उनका अनुसार बहिरङ्ग सेवा ५० र इमर्जेन्सी सेवा बापतको शुल्क १०० रुपैयाँ कायम गर्ने निर्णय गरिएको छ ।
बहिरङ्ग सेवा र इमर्जेन्सी सेवामा घटाइएको शुल्क माघ ८ गतेबाट लागू गरिने उनले बताए ।
यसअघि बहिरङ्ग सेवा शुल्क १०० र इमर्जेन्सी सेवा शुल्क ४०० रुपैयाँ थियो । बीमा बोर्डले कुनै पनि स्वास्थ्य सुविधा नलिएका बीमितलाई नवीकरण गर्दा १० प्रतिशत छुट दिने निर्णय गरेको छ ।
बोर्डका सूचना अधिकारी कँडेलले नियमित रूपमा स्वास्थ्य बीमा नवीकरण गरेका तर वर्षभरिमा कुनै पनि स्वास्थ्य बीमा सुविधा उपभोग नगरेका बीमितलाई नवीकरण गर्दा १० प्रतिशत रकम छुट गरिएको बताए ।
५ जनाको परिवारसम्म सदस्य भएका परिवारले वार्षिक ३ हजार ५०० रुपैयाँको योगदान रकम तिरेपछि १ लाखसम्मको सुविधा लिनसक्ने व्यवस्था रहेको छ । अहिलेसम्म कूल ७४ लाख ६६ हजार ७ जना बीमामा आबद्ध रहेका र तीमध्ये ३४ लाख ७६ हजार ७७८ जनाले बीमा कार्यक्रममार्फत स्वास्थ्य सेवा लिएका तथा ४८ लाख ५९ हजार ५१५ बीमितले नवीकरण गर्ने गरेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि सेवा सुरु हुने समय पनि घटाउने निर्णय गरिएको छ । सूचना अधिकारी कँडेलका अनुसार स्वास्थ्य बीमा कार्यक्रममा सदस्यता आबद्धता भएपछि सेवा सुरु हुने समय ३ महिनाको रहेकामा त्यसलाई घटाएर २ महिना कायम गरिएको छ ।
बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई उपचार बापतको शोधभर्ना रकम २/२ महिनामा उपलब्ध गराउने निर्णय समेत गरेको छ ।