कास्की । सशस्त्र प्रहरीको एपीएफ र चन्द्रागिरि न्यू डायमण्ड पोखरामा जारी चौथो संस्करणको ‘टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित महिला तथा पुरुष खुला भलिबल’ प्रतियोगिताको महिलातर्फ फाइनलमा प्रवेश गरेका छन् ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा आज बिहीबार सम्पन्न सेमिफाइनलको खेलमा साविक विजेता एपीएफले अर्को विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गरी उपाधि नजिक पुगेको हो ।
एपीएफले हालसम्म २ पटक उपाधि हासिल गरिसकेको छ ।
एपीएफले पहिलो २ सेट १९–२५ र २०–२५ ले नेपाल आर्मीलाई सुम्पिए पनि पछिल्ला ३ सेट लगातार आफ्नो पक्षमा पार्न सफल भयो । एपीएफले २५–१३, २५–१६ र १५–१३ ले नतिजा आफ्नो पक्षमा पार्दै फाइनलको यात्रा तय गर्न सफल भयो ।
दोस्रो सेमिफाइलनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई सोझो ३–० को सेटमा पराजित गर्दै न्यू डायमण्डले फाइनलमा स्थान बनाउन सफल भयो । न्यू डायमण्डले २५–१९, २५–१८ र २५–१८ ले नतिजा आफ्नो पक्षमा पार्दै एपीएफसँगको उपाधि भिडन्त पक्का गरेको छ ।
यसैगरी पुरुषतर्फ साविक विजेता घरेलु टोली गण्डकी प्रदेश सेमिफाइनलमा प्रवेश गर्न सफल भयो । लिगको आफ्नो अन्तिम खेलमा गण्डकी प्रदेश विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग ३–२ सेटले पराजित भए पनि सेमिफाइलन पुग्न सफल भयो ।
गत माघ १ गते खराब प्रकाशका कारण रोकिएको उद्घाटन खेल आज सञ्चालन भएको हो । खेलमा पहिलो सेट २५–२० ले आर्मीले जितेको थियो । दोस्रो र तेस्रो सेट गण्डकीले २०–२५ र १७–२५ ले आफ्नो पक्षमा पार्न सफल भयो । चौथो र पाँचौ सेट २५–२१ र १५–६ ले आर्मीले जिते पनि प्रतियोगिताबाट बाहिरियो ।
गण्डकीले सेमिफाइनलमा समूह बीको विजेता सशस्त्र प्रहरीको एपीएफ क्लबको सामना गर्नेछ । लिगमा हेल्प नेपाल स्पोर्टस क्लबलाई गण्डकीले ३–२ को सेटमा हराएको थियो । हेल्प नेपालले आर्मीलाई सोझो सेटमा हराएको थियो । समूह बीबाट एपीएफ विजेता र श्रीलंका आर्मी टीम उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरिसकेको छ । शुक्रबार पुरुषतर्फ सेमिफाइलनका खेल हुनेछन् ।
पुरुषतर्फ हेल्प नेपाल र श्रीलंका आर्मी तथा दोस्रो खेल एपीएफ र गण्डकीकाबीच हुनेछ प्रतियोगिता संयोजक दीपक कार्कीले जानकारी दिए । महिलातर्फ तृतीय स्थानका लागि त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली नेपाल पुलिसको सामना गर्नेछ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा माघ १ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ ६ गते हुनेछ । प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि विजेता टोलीले नगद ५ लाख ५५ हजार ५५५ र उपविजेता टीमले समान नगद २ लाख ५५ हजार ५५५ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुपका अध्यक्ष नारायण शर्माले जानकारी दिए ।
यसैगरी तृतीय हुने टोलीले १ लाख २५ हजार ५५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरूले जनही नगद २५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।