तनहुँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले मुग्लिन–पोखरा सडक योजनाअन्तर्गत पश्चिम खण्डको सडक र पूर्वी खण्ड अन्तर्गतको निर्माणाधीन पुलको आज शुक्रबार अनुगमन गरेका छन् ।
तनहँुको जामुनेदेखि पोखरासम्मको पश्चिम खण्डको प्रगतिबारे उनले आज शुक्रबार जानकारी लिएका छन् ।
मन्त्रालयका सचिव र महानिर्देशकसहित मन्त्री ज्वालाले खण्डको अनुगमन गर्दै काममा तीव्रता दिन निर्देशन दिए । पश्चिम खण्डको काम निकै सुस्त भएकाले यसलाई तीव्रता दिन आवश्यक रहेको मन्त्री ज्वालाको भनाइ थियो । पश्चिम खण्डको काममा ढिलाइ हुँदा गुनासो आएकाले कामको गति बढाउन मन्त्री ज्वालाले निर्देशन दिए ।
पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखरासम्म विक्रम संवत् २०७८ जेठ २ गते सम्झौता भई विक्रम संवत् २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यो खण्डको म्याद विक्रम संवत् २०८१ भदौसम्म रहेको छ ।
मन्त्री ज्वालाले मुग्लिन–पोखरा सडक विस्तारको पूर्वी खण्डअन्तर्गत दमौली मादी नदीमा निर्माण हुने पुलको समेत निरीक्षण गरेका छन् । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि आर्क पुल बन्दैछ ।
पुल निर्माणका लागि आवश्यक काम भइरहेको इन्जिनीयर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार पुलका लागि २१० पाइलमध्ये ५२ वटा पाइलको काम सकिएको छ । उनले २ वटा फाउन्डेसनको पाइलको काम सकिएको जानकारी दिए । हाल भइरहेको पुलभन्दा केहीमाथि नयाँ पुल निर्माण हुँदैछ । पुल निर्माणको ठेक्का जेडआइष्ट अन्नक जेभीले पाएको छ ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले २ खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा काम सन्तोषजक भए पनि जामुनेबाट पोखरासम्मको पश्चिमखण्डमा काम सुस्त छ । पूर्वी खण्डको कामका लागि विक्रम संवत् २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । ४१ दशमलव ४५ किमी खण्डमा ३ ठूला र ४ साना पुल निर्माण गरिनेछ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विक्रम संवत् २०८१ वैशाखसम्म छ ।
विक्रम संवत् २०२६ सालमा रेखांकन भएको सडकमा सवारीको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार र पश्चिम खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखमा लागेको छ ।
४ लेनको बन्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।