काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय मातहतका राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न आवश्यक सहजीकरण भइरहेको बताएका छन् ।
नियमित रूपमा आयोजनाको अनुगमन, निरीक्षण एवं समस्या समाधानका लागि मन्त्रालयका तर्फबाट आवश्यक पहल गरिएको उनको भनाइ छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिको आज शुक्रबारको बैठकमा मन्त्री बस्नेतले विगतमा राष्ट्रिय गौरवको आयोजना छनोटमा भएको कमजोरीका कारण पनि केही जटिलता थपिएको तथ्य पेश गरे ।
विगतको कमजोरी सुधार गरेर आयोजना छनोटमा नै ध्यान दिनुपर्ने बताए ।
ठूला आयोजनाका आयोजना प्रमुखलाई जिम्मेवार भएर काम गर्न आवश्यक निर्देशन गरिएको र उनीहरूलाई समयअगावै सरुवा समेत नगरिएको मन्त्री बस्नेतको भनाइ छ । राष्ट्रिय गौरवको आयोजना सञ्चालनका लागि विशेष कानूनी संरचना र प्रबन्ध गरिनुपर्ने उनको कथन छ । त्यस्ता आयोजनाको समग्र पक्षमा नै पुनःविचार गर्नुपर्ने बेला आएको मन्त्री बस्नेतले स्पष्ट पारे ।
समितिको बैठकमा मन्त्रालय मातहतका महाकाली सिँचाइ आयोजना, रानी जमरा कुलरिया आयोजना, बबई सिँचाइ आयोजना, भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना, सिक्टा सिँचाइ आयोजना र सुनकोशी मरिण डाइभर्सन आयोजनाको पछिल्लो अवस्थाबारे जानकारी गराइएको थियो ।
सरकारले सिँचाइ सुविधा विस्तार गरी कृषिउपज उत्पादन बढाउने र आत्मनिर्भर बनाउने लक्ष्यका साथ ठूला आयोजना सुरु गरे पनि अपेक्षित प्रगति हुनसकेको छैन । राष्ट्रिय गौरवका आयोजनाको समय र लागत दुवै बढ्दै जाँदा अपेक्षित लाभ हासिल हुन नसकेको हो । चौतर्फी आलोचना र नियामक निकायले समेत लगातार अनुगमन गर्नुपर्ने अवस्था देखापरेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले त्यस्ता आयोजनाको हरेक १ महिनामा प्रगति विवरण लिने, समस्या समाधान गर्ने, आयोजना प्रमुख तथा संलग्न कर्मचारीलाई जिम्मेवार बनाइरहेको छ । जलस्रोत तथा सिँचाइ विभागले हरेक १५ दिनमा प्रगति विवरण लिने गरेको छ । केही आयोजनाको भौतिक निर्माणले गति लिएको भए पनि केही आयोजनाको प्रगति भने सन्तोषजनक नभएको पाइएपछि संसदीय समितिले चासो लिँदै आज छलफल गरेको छ ।
राष्ट्रिय गौरवका ती आयोजनाबाट कूल २ लाख ८७ हजार ५८६ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ । ८२ दशमलव ५ मेगावाट बिजुली समेत उत्पादन हुनेछ । त्यसमध्ये रानी जमरा कुलरिया सिँचाइ आयोजनाले ४ दशमलव ७ मेगावाट बिजुली उत्पादन गरिसकेको छ । आयोजनाको बिजुली उत्पादन तथा सञ्चालनका लागि आवश्यक मोडालिटी निर्माणको चरणमा छ ।