म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी जोड्ने सडक स्तरोन्नतिको काम अघि बढेको छ ।
गण्डकी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले अन्नपूर्ण गाउँपालिका–६ मा पर्ने चित्रेदेखि घोडेपानी जोड्ने सडक स्तरोन्नति गर्ने प्रक्रिया थालेको छ ।
पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले मन्त्रालयको निर्देशनअनुसार सडक स्तरोन्नति गर्न प्राविधिक टोलीले सर्वेक्षण गरेको जानकारी दिए । विक्रम संवत् २०७६ सालमा प्रदेश सरकारको लगानीमा मार्ग खुलेको करीब ३ किलोमिटर सडक हाल कच्ची अवस्थामा छ ।
सडक विस्तार, ग्रेड, घुम्ति तथा मोड सुधार गरेर बाह्रै महिना सहज रूपमा नियमित यातायातका साधन सञ्चालन गर्ने व्यवस्था मिलाउन प्रदेश सरकारले प्राथमिकता र चासो देखाएको छ ।
भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीका अनुसार प्रदेश सरकारले चालू आर्थिक वर्षमा ३० लाख बजेट विनियोजन भएको सडक योजनाका लागि थप ३० लाख बजेट थप गर्ने र त्यसलाई २० प्रतिशत मानेर ३ करोड बजेट बराबरको बहुबर्षीय ठेक्का लगाउन लागेको छ ।
मंसिर दोस्रो हप्ता घोडेपानीमा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रथम चौमासिक समिक्षा कार्यक्रममा सहभागी हुन आएका प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्री जुग्जालीको प्रस्तावमा चित्रे घोडेपानी सडक स्तरोन्नति गर्न यसै वर्ष बहुवर्षीय ठेक्का प्रक्रिया शुरु गर्ने घोषणा गरेका थिए ।
घोडेपानीदेखि कास्कीको उल्लेरीलाई सडक सञ्जालले जोड्न यस वर्ष ३० लाख विनियोजन भएको छ । गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि चित्रे जोड्ने १८ किलोमिटर सडक स्तरोन्नतिको क्रममा रहेको छ । कास्कीको नयाँपुुल, तिखेढुुंगा, उल्लेरी हुुँदै म्याग्दीको घोडेपानी जोड्ने सडक पोखरा बेनी जोमसोम सडकको पर्वत पोखरेबगर खण्डको वैकल्पिक बनाउन सकिने सम्भावना छ ।
सडक सहज भएपछि घोडेपानी–पुनहिल क्षेत्रमा पर्यटक आगामन बढ्ने, स्थानीयवासीलाई आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । अन्नपूर्ण चक्रिय पदमार्गमा पर्ने घोडेपानी पुनहिल दृष्य अवलोकनका लागि प्रसिद्ध छ । यहाँ वार्षिक ३० हजार जनाभन्दा बढी विदेशी पर्यटक भ्रमणमा आउँछन् ।