पाँचथर । पूर्वी पहाडका ३ जिल्लाका सेवाग्राहीलाई सेवा दिने जिल्ला अस्पताल पाँचथरको स्तरोन्नति गरिएको डेढ वर्ष बितिसक्दा पनि कर्मचारीको दरबन्दी स्वीकृत हुन सकेको छैन भने भएका दरबन्दीमा आधाभन्दा बढी पद रिक्त छन् ।
कोशी प्रदेश सरकारले जिल्ला अस्पताललाई २०७९ भदौ २८ गते ५० श्ययामा स्तरोन्नति गर्ने निर्णय गरेको थियो । पाँचथरसँगै जिल्ला अस्पताल तेह्रथुमको समेत स्तरोन्नति गर्ने प्रदेश मन्त्रिपरिषद्ले निर्णय गरेको थियो तर स्तरोन्नतिअनुसार आवश्यक जनशक्तिको दरबन्दी प्रदेश सरकारले अहिलेसम्म स्वीकृत गर्न सकेको छैन ।
विगतमा १५ शय्यामा सञ्चालित अस्पतालको स्वीकृत ३२ जना जनशक्तिको दरबन्दीमा अहिले १७ जना कर्मचारीको पद रिक्त रहेको छ ।
जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. वुद्धिबहादुर थापाका अनुसार प्रशासनिक संरचना बदलिँदा प्रदेश सरकार मातहत सञ्चालनमा रहेको अस्पतालका लागि आवश्यक जनशक्ति नहुँदा सेवा प्रवाह गुणस्तरीय बन्न सकेको छैन । विक्रम संवत् २०४५ सालमा स्थापित जिल्ला अस्पतालमा ०६९ सालमा संशोधित व्यवस्थाअनुसार ३२ जना स्वास्थ्यकर्मी तथा कर्मचारीको दरबन्दी छ, जसमध्ये हाल १७ पद रिक्त छ तर अस्पतालले दरबन्दी करारमा १४ जना, प्रदेश करारमा १० जना, छात्रवृत्ति करारमा ६ जना, कार्यक्रम करारमा १० जना, स्वास्थ्यकर्मी करारमा ३ जना र अस्पताल विकास समिति करारमा ३१ जना कर्मचारी नियुक्त गरी ५० शय्याको सेवा दिँदै आएको छ ।
स्तरोन्नतिअनुसार दरबन्दी र जनशक्ति नहुँदा गुणस्तरीय सेवा प्रवाह गर्न कठिनाइ भएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. थापाको भनाइ छ । दरबन्दी सिर्जनाका लागि प्रदेश सरकारले संगठन तथा व्यवस्थापन सर्वेक्षण नै गर्न सकेको छैन । कोशी प्रदेश सरकारले मातहतका निकायहरुका लागि संगठन तथा व्यवस्थापन सर्वेक्षणको कार्य नै नथालेको स्वास्थ्यकर्मी बताउँछन् ।
जनशक्ति अभावकै कारण विशेषज्ञ सेवा सञ्चालन, उपलब्ध भएका भेन्टिलेटर र सघन उपचार कक्ष (आईसीयू) को सञ्चालन समेत हुन नसकेको डा. थापाले जानकारी दिए । पाँचथरसहित छिमेकका तेह्रथुम र ताप्लेजुङका सेवाग्राहीलाई नियमित सेवा दिइरहेको जिल्ला अस्पतालको स्तरोन्नति र जनशक्ति व्यवस्थापनका यहाँका सरोकारवालाले निरन्तर पहल गरे पनि सार्थक हुन सकेको छैन ।
गत आर्थिक वर्ष २०७९/०८० मा यस अस्पतालमा आएका सेवाग्राहीको तथ्यांकले पनि अस्पतालको सुधार अपरिहार्य रहेको देखाउँछ । गत आवमा आकस्मिक सेवाबाट २९ हजार ९४२ जना, बहिरङ्ग सेवाबाट ७२ हजार १९५ जना, अन्तरङ्ग सेवाबाट ३ हजार ३१० जना, आमा सुरक्षा कार्यक्रम सेवाबाट १ हजार १२१ जना लाभान्वित भएको अस्पतालको तथ्यांक छ ।
सुरक्षित गर्भपतन सेवाबाट ६८६ जना, नवजात शिशु विशेष उपचार सेवाबाट ५८ जना, शल्यक्रिया सेवाबाट २ हजार १७ जना, रेडियोलोजी सेवाबाट २१ हजार ६६५ जना, ल्याब सेवाबाट १८ हजार ४२ जना, एकद्वार संकट व्यवस्थापन केन्द्र सेवाबाट ५५ जना, सामाजिक सेवा एकाइबाट १ हजार ६७० जना, मेडिको लिगल सेवाबाट २३४ जना, हेमोडायलाइसिस सेवाबाट ४ जना सेवाग्राही लाभान्वित भएका छन् ।
गत वैशाखदेखि सञ्चालनमा आएको अस्पतालको नयाँ भवन सेवा प्रवाहमा भौतिक क्षेत्रमा भने केही सहज बनाएको मेडिकल सुपरिन्टेन्डेन्ट डा. थापाको भनाइ छ । संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट तथा शहरी विकास तथा भवन निर्माण विभागबाट ५० शय्या सञ्चालनका लागि २१ करोड ३४ लाख १ हजार ९८२ रुपैयाँको लागतमा नयाँ भवन निर्माण भएको हो । २०७४ कात्तिक १६ गतेदेखि निर्माण सुरु भएको भवन गत वर्षको चैत २२ गते अस्पताल विकास समितिलाई हस्तान्तरण गरिएको थियो ।
सेवा प्रवाहको क्षेत्र ठूलो रहेको अस्पतालमा दरबन्दी र जनशक्ति अभाव, कर्मचारी आवासको उपयुक्त व्यवस्था नहुनु, समयसापेक्ष तालिमको अभाव, अस्पतालको घेराबारा हुन नसक्नु, अस्पतालमा पर्याप्त एम्बुलेन्स अभावजस्ता समस्या रहेको मेडिकल सुपरिन्टेन्डेन्ट डा. थापाले बताए ।