काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल हराए वा चोरी भए अथवा नम्बर परिवर्तन भए तुरुन्त बैंक तथा वित्तीय संस्थालाई जानकारी गराउन आह्वान गरेको छ ।
केन्द्रीय बैंकले मंगलबार एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थामा खाता खोली मोबाइल बैकिङ तथा इन्टरनेट बैकिङजस्ता सेवा प्रयोग गर्दा फोन नम्बर प्रयोग हुने भएकाले मोबाइलसँगै खाताको रकम चोरी हुनसक्ने भन्दै सचेत गराएको छ ।
केन्द्रीय बैंकले जारी गरेको सूचनामा भनिएको छ, 'यदि तपाईंले कुनै कारणबस मोबाइल नम्बर परिवर्तन गर्नुभयो भने वा तपाईंको पुरानो नम्बर अन्य व्यक्तिको हातमा आयो भने तपाईंको खातासम्बन्धी विवरण अनधिकृत व्यक्तिको पहुँचमा पुग्न सक्ने जोखिम हुन्छ । त्यसैले मोबाइल हराएमा वा नम्बर परिवर्तन भएमा तुरुन्त सम्बन्धित बैंक तथा वित्तीय संस्थालाई जानकारी गराउनुपर्छ ।'
मोबाइलमार्फत् वित्तीय सेवाको प्रयोग गर्दा आफ्नै नाममा दर्ता भएको नम्बर वा आधिकारिक एप्लिकेसन प्रयोग गर्न केन्द्रीय बैंकले अनुरोध गरेकाे छ ।


























