जाजरकोट । रामीडाँडा केन्द्रविन्दु भएर गएको भूकम्पबाट प्रभावितमध्ये हालसम्म २७ हजार ९१ जनाले अस्थायी आवासका लागि पहिलो किस्ताको रकम पाएका छन् ।
४२ हजार ५२४ पीडितमध्ये २७ हजार ९१ पीडितले मात्र पहिलो किस्ताको रकम पाएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हरिश्चन्द्र शर्माका अनुसार भेरी नगरपालिकाका जम्मा पीडित ६ हजार ६३४ मध्ये ४ हजार ६४२ जनाले पहिलो किस्ताको रकम पाएका छन् ।
नलगाड नगरपालिकाका जम्मा ८ हजार ९७ जना पीडितमध्ये ७ हजार १५० जनाले पहिलो किस्ता रकम प्राप्त गरेको जानकारी गराएको छ । छेडागाडमा ८ हजार २०५ मध्ये २ हजार १८८ जनाले मात्र रकम पाएको उल्लेख गरिएको छ ।
बारेकोटमा ५ हजार ५८६ मध्ये ४ हजार ६८७ जनाले पहिलो किस्ता बापतको रकम पाएका छन् । कुशे गाउँपालिकाका ५ हजार २८७ परिवारमध्ये ४ हजार १५४ परिवारले पहिलो किस्ताको रकम पाएका छन् । जुनिचाँदे गाउँपालिकामा ५ हजार ४०६ मध्ये १ हजार ११३ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको छ ।
शिवालय गाउँपालिकामा ३ हजार ३०९ जनामध्ये ३ हजार १४७ परिवारलाई पहिलो किस्ता उपलब्ध गराएको जानकारी दिइएको छ ।
४२ हजार ५२४ पीडितमध्ये हालसम्म २७ हजार ९१ परिवारले रकम बुझेको प्रशासनको विज्ञप्तिमा जनाएको छ । १० हजार १५९ परिवार मात्र अहिलेसम्म अस्थायी टहरा निर्माण गरेर बसिरहेको समेत उल्लेख गरिएको छ । हालसम्म ३२ हजार ३६५ परिवार अझै त्रिपालमा बसिरहेका छन् ।
जम्मा भूकम्प पीडितको संख्या ४२ हजार ५२४ रहेको छ । हालसम्म जुनिचाँदे गाउँपालिकामा कुनै पनि अस्थायी आवास निर्माण नगरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।