पर्वत । सुन्तला उत्पादनका लागि ख्याति कमाएको पर्वतको मोदी गाउँपालिका–२ देउपुरका सुन्तला कृषक गत वर्षजस्तो खुसी छैनन् । किनकि यस वर्ष उनीहरूले सोचे अनुसारको कमाइ भएन ।
गत वर्ष सुन्तला उत्पादनबाट ५ करोडभन्दा बढी भित्र्याएका कृषकले यस वर्ष झन्डै २ करोडमा चित्त बुझाउन बाध्य भएका छन् ।
गत वर्षभन्दा ६० प्रतिशतले उत्पादनमा कमी आएको कृषकले गुनसो गरेका छन् । सुन्तला पकेट क्षेत्र भए पनि बोट मर्ने र फल पाक्ने बेलामा औंसा किराको प्रभावले पनि यस वर्ष उत्पादनमा ६० प्रतिशतले गिरावट आएको स्थानीय कृषक खेमनाथ पौडेलले जानकारी दिए ।
यहाँका बगैंचामा सुन्तला किन्नका लागि काठमाडौं पोखरा, नारायणगढदेखि व्यापारी घरघरमै आएर लगिसकेका छन् । ३ वर्षअघिसम्म सहकारीमार्फत बिक्री गर्दै आए पनि यस वर्ष व्यापारीलाई निजी ढंगले बगैंचा जिम्मा लगाएको माछापुच्छ्रे सुन्तला सहकारी संस्थाका पूर्व अध्यक्ष दाताराम चापागाईंले बताए ।
यस वर्ष उत्पादन घटेकाले गत वर्षजस्तो राम्रो कमाइ नभएको उनले बताए । ‘गएको वर्ष ५ करोडभन्दा बढीको सुन्तला बिक्री गरेका थियौं । यस वर्ष मुस्किलले २ करोड जति आम्दानी भएको अनुमान छ,’ चापागाईंले भने ।
आफूले गत वर्ष ६ लाखको सुन्तला बिक्री गरेकामा यस वर्ष २ लाखभन्दा आम्दानी नभएको उनले गुनासो गरे ।
स्थानीय शिक्षक भूमिराज शर्माका अनुसार सुन्तला टिप्नका लागि १ हप्ताअघिसम्म व्यापारीका कामदारले देउपुरका बगैंचा भरिएका थिए । सुन्तला टिप्ने र लैजानेका कारण मेला लागेजस्तै देखिएको थियो । थोक व्यापारीले बगैंचाबाट नै खरिद गरेपछि कृषकलाई पनि सहज भएको उनले उल्लेख गरे ।
देउपुरका कृषक खेमराज पौडेलले १ वर्ष बढी फल्ने र अर्को वर्ष कम फल्ने भएकाले गत वर्षजस्तो उत्पादन नभएको बताए । उनले गत वर्ष ५ लाखमा सुन्तलाको बगैंचा बिक्री गरेको बताउँदै यस वर्ष झण्डै आधा जति घटेको जानकारी दिए । विगत २ दशकदेखि गरिएको व्यावसायिक सुन्तला खेतीबाट यहाँका कृषकको मुख्य आम्दानीको स्रोत सुन्तला बनाएका छन् । परम्परागत रूपमा कोदो र मकै लगाउने गरेका यहाँका कृषकले सुन्तला खेती गरिएपछि उनीहरूको जीवनस्तरमा समेत परिवर्तन आएको छ । यहाँका १६० भन्दा बढी कृषक अन्य खेती छाडेर व्यावसायिक सुन्तला खेतीमा लागेका हुन् ।
साविक देउपुर गाविसमा सुन्तलाको सम्भाव्यता उच्च भएकाले विगत लामो समयदेखि सुन्तला खेतीलाई व्यावसायिक रूपमा सुरु गरेको अर्का कृषक विजय चापागाईंले बताए । उनले सुन्तला खेतीको विस्तारका लागि अझै प्रयास गर्न जरुरी रहेको बताए । सुरुमा कोदो मकै मात्र लगाएर बस्ने गरेको ठाउँमा सुन्तला लगाएपछि वार्षिक रूपमा प्रत्येक परिवारको २ देखि ७ लाखसम्म कमाइ हुन थालेको चापागाईंको भनाइ छ ।
यस वर्षदेखि सुन्तलाका बोट मर्न थालेको स्थानीय टीकाराम तिमिल्सिनाले बताए । ठूला र साना बोट पनि धमाधम मर्न थालेको र रोग पत्ता नलागेको उनले बताए । विभिन्न औषधि प्रयोग गरे पनि निरन्तर रुख सुक्न थालेको उनको भनाइ छ ।
यता कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शंकर पौडेलले बोटमा लामो समय फल राख्दा अर्को वर्षको उत्पादनमा कमी आउने बताए । उनले देउपुरमा औंसा कीरा, फल झर्ने लगायत अन्य संक्रमणका कारण पनि सुन्तलाको उत्पादन गत वर्षभन्दा घटेको बताउँदै समग्र जिल्लाभरमा भने उत्पादनमा असर नगरेको बताए ।