भरतपुर । चेपाङ गाउँ हपनीमा बिहान सबेरै चहलपहल सुरु हुन्छ । निन्द्रामा रहेका गाउँलेलाई पनि हर्न बजाउँदै आएको एम्बुलेन्सले ब्यूँझाउँछ ।
बिहान ४ बजे हर्न बजाउँदै आउने एम्बुलेन्स बिरामी मान्छे नभई तरकारी र फलफूल बोक्ने गर्छ । चितवनको इच्छाकामना गाउँपालिका–२ हपनीमा गाउँपालिकाको ७५ प्रतिशत अनुदानमा सञ्चालनमा ल्याइएको कृषि एम्बुलेन्सले यहाँका स्थानीयको जीवनमा परिवर्तन ल्याउन थालेको छ ।
एम्बुलेन्स हर्न बजाउँदै गाउँ उक्लिएपछि गाउँलेले आफूसँग भएको उत्पादनलाई सडकसम्म ल्याउँछन् । गाउँलेको सामान लोड गरेपछि एम्बुलेन्स बजार झर्छ ।
गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा दिएको कृषि एम्बुलेन्स हपनीका चेपाङ समुदायका लागि आयस्रोतको सजिलो माध्यम कृषि एम्बुलेन्स बनेको छ ।
कृषि एम्बुलेन्स चालक दीपककुमार प्रजाले बिहानै ४ बजे उठेर हपनी, माझखर्क ओल्र्याङबाट किसानको तरकारी फलफूल र अन्य सामाग्री गाडीमा लोड गरेर फिस्लिङ, मौवाखोला, शक्तिखोर, टाँडी लगायतका बजारसम्म लैजाने गरेका छन् । दिनभर किसानका सामान बेचेपछि उनी साँझ गाउँ फर्किन्छन् र किसानको आम्दानी बुझाउँछन् ।
‘सबै सामान आफैं बिक्री गरिदिने गरेका छौं,’ उनले भने, ‘साँझ भाडा कटाएर बाँकी रहेको पैसा किसानलाई बुझाउने गरेको छु । यसले गाउँलेलाई सहज भएको छ ।’ कृषि एम्बुलेन्स चलाउन थालेपछि गाउँमा परिवर्तन आएको दीपकले बताए ।
‘गाउँका सबै सामान बजार लगेर बिक्री गर्न पाइएको छ, डोकोमा बोकेर घन्टौं हिँड्नुपर्ने बाध्यता हटेको छ,’ उनले भने । गाउँमा उत्पादन भएका तरकारी, फलफूल, डोको नाङ्लो लगायतका सबै उत्पादन बिक्रीका लागि बजार लैजाने गरेको उनले बताए । यहाँ उत्पादन हुने फलफूल र तरकारी प्रायः अर्गानिक हुने गरेको उनले बताए ।
‘गाउँका खसी बोका पनि यही एम्बुलेन्समा राखेर बिक्रीका लागि लैजाने गरिएको छ । अघिल्लो महिना ४–५ ट्रिप खसीबोका बजार लगें,’ चालक प्रजाले भने, ‘५५० केजीमा गाउँबाटै खसीबोका बिक्री हुने गरेको छ ।’ उनले गाउँमा एम्बुलेन्स सञ्चालन भएपछि धेरै किसानले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेको बताए । किसानको कामअनुसार आफू गाउँपालिकाका अन्य वडामा समेत कृषिजन्य सामग्री बोक्नका लागि जाने गरेको बताउँदै उनले प्रायः समय खाली बस्न नपरेको बताए । गाउँमा कृषि एम्बुलेन्स सञ्चालन भएको ६ महिना भएको भन्दै उनले अहिले सबै घर कृषि उत्पादनमा जोडिएको बताए ।
गाउँबाटै सबै सामान बिक्री हुने भएपछि हातमा सीप भएकाहरूले डोको नाङ्लो बुन्ने गरेका छन् । हपनी कृषक समूहको अध्यक्ष टेकबहादुर चेपाङ कृषि एम्बुलेन्सले गाउँलेलाई उत्साहित र जाँगरिलो बनाएको बताउँछन् । ‘सबै गाउँलेको मागअनुसार नै गाउँपालिकाको ७५ प्रतिशत अनुदान सहयोगमा एम्बुलेन्स खरिद गरेका हौं,’ उनले भने, ‘अहिले सबै जना खुशी हुनुहुन्छ ।’
पहिले गाडी नहुँदा फिस्लिङसम्म बोकेर नै तरकारी फूलफूल बिक्रीका लागि लैजाने गरेको उनी बताउँछन् ।
‘अरुको गाडी भनेको समयमा नआउने र सामन भनेको ठाउँमा नपुर्याउने समस्या थियो,’ अध्यक्ष टेकबहादुरले भने, ‘गाउँमै गाडीवालाको बार्गेनिङले मूल्य नपाउने समस्या थियो ।’ अहिले आफ्नै गाडीले सामान लैजादा बजार र मूल्यको समेत चिन्ता नरहेको उनले बताए ।
समूहमा ३५ घरधुरी आबद्ध छन् । यहाँका ५३ घरधुरीमध्ये आधा बढी सहकारीमा आबद्ध रहेको र अन्य पनि आबद्ध हुने तयारीमा रहेको टेकबहादुरले जानकारी दिए ।
हपनीका कृषक पदमबहादुर चेपाङ यस वर्ष सखरखण्ड, तरुल लगायतका कृषि उत्पादन बिक्री गरेको बताए । एम्बुलेन्स (बोलेरो) चलेपछि धेरै सहज भएको भन्दै उनले आफ्नै गाउँठाउँका दाजुभाइले घरबाटै सामान लगेर घरमै पैसा ल्याइदिने गरेको बताए । ‘उत्पादन गरे बजारको चिन्ता छैन, आजभोलि खेती किसानी गर्न पनि जाँगर लागेको छ,’ उनले भने, ‘पछिल्लो समय गाउँमा बाँदरले खेतीबाली नष्ट गर्ने समस्या भने छ ।’