सर्लाही । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले सामुदायिक अस्पतालहरू पनि स्वास्थ्य मन्त्रालयकै सम्पत्ति भएको बताएका छन् ।
सर्लाहीको कौडेना गाउँपालिका फुलपरासीमा नवनिर्मित १५ शैयाको सामुदायिक अस्पतालको मंगलबार उद्घाटन गर्दै मन्त्री बस्नेतले सम्पूर्ण नागरिकको स्वास्थ्य उपचारको जिम्मेवारी राज्यको भएकाले सामुदायिक अस्पतालहरू पनि राज्यकै सम्पत्ति भएको बताए ।
उनले भने, ‘यो अस्पताल कौडेना गाउँपालिकाको मात्र सम्पत्ति होइन, सर्लाही जिल्लाकै सम्पत्ति हो र स्वास्थ्य मन्त्रालयकै सम्पत्ति हो ।’
मन्त्री बस्नेतले सामुदायिक अस्पतालको विकास र बिस्तारका लागि स्वास्थ्य मन्त्रालयले सक्दो सहयोग गर्ने बताए ।
स्वास्थ्यमन्त्री भएपछि आफ्नो पहिलो प्राथमिकतामा विपन्न, गरिब एवं बेवारिसे परेका र उनीहरूले सर्वसुलभ उपचार पाउनुपर्ने उनकाे भनाइ छ ।
स्वास्थ्य मन्त्रालय मातहतका ९ वटा केन्द्रीय अस्पतालहरूलाई विपन्न बिरामीका लागि आफ्ना जनरल वार्ड नि:शुल्क गर्ने निर्णय गराएर २ हजार २८ शैयामा अहिले विपन्नहरूले सहज उपचार पाउन थालेको मन्त्री बस्नेतले जानकारी दिए ।
उनले दुई हप्ताभित्रै स्वास्थ्य मन्त्रालय मातहतका संघीय अस्पतालहरूका सबै जनरल वार्ड नि:शुल्क गरिने दावीसमेत गरे ।
उद्घाटन समारोहमा खानेपानी तथा सरसफाइमन्त्री महेन्द्रराय यादव, नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, कौडेना गाउँपालिकाका अध्यक्ष रूपेश यादव, प्रदेश सांसद जंगीलाल राय र कौशल किरोर यादव लगायतका नेता कार्यकर्ता र सर्वसाधारणको उपस्थिति रहेको थियो ।