पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र एकता कायम गर्नुको विकल्प नभएको बताएका छन् ।
नेपाली कांग्रेस पर्वतको दोस्रो जिल्ला सम्मेलनलाई आज सोमबार पर्वत सदरमुकाम कुश्माबजारमा सम्बोधन गर्दै सभापति देउवाले कांग्रेसका नेता कार्यकर्ताबीच मेलमिलाप हुन आवश्यक रहेको बताए ।
नेता तथा कार्यकर्ता एकजुट भए मात्र पार्टी बलियो हुने उनको भनाइ थियो । ठूलो त्याग र बलिदानपछि आज नेपाली कांग्रेस मुलुकको पहिलो शक्ति बनेको बताउँदै देउवाले एकताबद्ध कांग्रेसलाई कुनै शक्तिले पनि हराउन नसक्ने बताए ।
ठूलो दलमा सबैले एकैपटक नेतृत्व पाउन मुस्किल हुने भन्दै सभापति देउवाले भने, ‘निरन्तर लाग्ने नेताहरू अवसरवाट वञ्चित हुन पर्दैन ।’ उनले कांग्रेसलाई बलियो बनाउन सबै एकजुट हुनुपर्नेमा जोड दिए ।
उनले भने, ‘अहिलेको अवस्थामा हाम्रा साथीहरूबीच मेलमिलाप हुन जरुरी छ । अधिवेशनमा प्रतिस्पर्धा हुन्छ, जीत र हार हुन्छ । आज जित्नेले पनि भोलि सधैं जितिरहन्छ भन्ने हुँदैन । जित्नेले हार्ने साथीसँग सहयोग लिने, हार्नेले जित्नेलाई सहयोग गरेको खण्डमा अहिले आपसमा रहेको समस्यालाई भोलिका दिन मेलमिलाप गर्न सहयोग पुग्नेछ ।’
देउवाले कांग्रेसले नेतृत्वदायी भूमिकामा बसेर नेपाललाई समावेशी समानुपातिक व्यवस्था र लोकतान्त्रिक व्यवस्था नेपालमा स्थापित गरेको बताउँदै यो व्यवस्थाका कारण आदिवासी जनजाति, अपाङ्गता भएकाको प्रतिनिधित्व हुने अवस्था आएको बताए ।