काठमाडौं । सोमबारको प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री एनपी साउदको राजीनामा मागिएको छ । प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद असिम साहले परराष्ट्र मन्त्री साउदको राजीनामा मागेका हुन् ।
भारतीय टेलिभिजनलाई दिएको अन्तर्वार्तामा साउदले भारतको संसद्मा राखिएको नक्साका विषयमा जानकारी नभएको बताएका थिए । साउदले भनेका थिए, 'हेर्नुस्, यो मुराल (भित्तेचित्र)को कुरा हामीलाई जानकारी छैन। र, जुन कुरा हाम्रो जानकारीमा छैन, त्यसबारे भारतले नै आफ्नातर्फबाट बोल्छ ।'
भारतको संसद्मा ‘अखण्ड’ भारत भनेर राखिएको नक्सामा नेपालका कपिलवस्तु र लुम्बिनी पनि समेटिएका छन् । यस विषयमा परराष्ट्र मन्त्रीले गैर जिम्मेवार जवाफ दिएको भन्दै सांसद साहले राजीनामा मागेका हुन् ।




























