काठमाडौं । प्रधानमन्त्री कप पुरुष १ दिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेशले बागमती प्रदेशलाई पराजित गरेको छ ।
गण्डकीले बागमतीलाई ३ विकेटले हराएको हो । गण्डकीको यो दोस्रो जीत हो ।
गण्डकी ५ खेलमा ४ अंक जोड्दै अंक तालिकाको आठौं स्थानमा छ । बागमती ७ खेलमा ८ अंकका साथ तालिकाको दोस्रो स्थानमा छ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज मंगलबार भएको खेलमा बागमतीले टस जितेर ४९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १९८ रन बनायो । १९९ रनको विजयी लक्ष्य गण्डकीले ३ बल बाँकी छँदा ७ विकेट गुमाउँदै पूरा गर्यो ।
गण्डकीका लागि किरण पङ्गेनीले सर्वाधिक ७९ रनको योगदान दिए । उनले ९८ बलमा ६ चौका र ३ छक्का हाने । ईश्वर क्षेत्रीले ३६, मुस्कान थापाले २७, कमल परियारले २० तथा समिर कँडेलले १९ रन बनाए ।
बलिङतर्फ बागमतीका प्रतिश जिसीले २, रिजन ढकाल, सूर्य तामाङ र विपीन आचार्यले १/१ विकेट लिए ।
त्यसअघि पहिला ब्याटिङ गर्ने क्रममा बागमतीका लागि आँशुतोष घिरैयाले सर्वाधिक ४४ रनको योगदान दिए । इशान पाण्डेले ४३, विपीन आचार्यले ३८, अशोक पौडेलले ३०, सूर्य तामाङले १५ तथा कप्तान रित गौतमले १३ रन बनाए । बलिङतर्फ गण्डकीका कमल परियारले ४, कप्तान विपीन खत्री र अमृत गुरुङले २/२ तथा सन्दीप पराजुलीले १ विकेट लिएका छन् ।