चितवन । भरतपुर महानगर हुँदै जाने प्रस्तावित रेलमार्गमा १ हजारभन्दा बढी घर पर्ने भएपछि वैकल्पिक रेलमार्गको अध्ययन गरिने भएको छ ।
भरतपुर महानगरपालिकाले आज बुधबार बोलाएको छलफल कार्यक्रममा वैकल्पिक मार्गबारे अध्ययन गर्न समिति बनाउने निर्णय गरेको हो ।
रेल विभाग, परामर्शदाता कम्पनी, राजनीतिक दलका प्रतिनिधि र सरोकारवाला छलफलमा सहभागी थिए । महानगर प्रमुख रेनु दाहालका अनुसार महानगर, रेल विभाग र कोरियन परामर्शदाताका प्रतिनिधि सहभागी भएर वैकल्पिक रेलमार्गको अध्ययन गर्ने सहमति भएको छ ।
महानगरपालिकाले भरतपुर वडा नम्बर ११ र १२ को वन क्षेत्रको सीमाबाट वैकल्पिक रेलमार्ग प्रस्ताव गरेको छ ।
राप्ती नदी किनार हुँदै दोस्रो विकल्प महानगरले प्रस्ताव गरेको छ । यी मार्गको अध्ययन गर्न लागिएको हो । प्रमुख दाहालका अनुसार अहिले प्रस्तावित रेलमार्गमा महानगरपालिकाको वडा नम्बर ८, ७, ४ र १६ का १ हजारभन्दा बढी घरधुरी पर्दछन् । बाक्लो बस्ती हुँदै रेलमार्ग सम्भावना नहुने भएकाले वैकल्पिक मार्गको प्रस्ताव गरेको उनले जानकारी दिए ।
रेलमार्ग प्रस्ताव गरिएका क्षेत्रका वासिन्दाले ठूलो नोक्सान हुने भन्दै संघर्ष समिति बनाएर दबाब दिँदै आएका छन् ।
स्थानीयको मागपछि केही दिनअघि महानगरपालिकाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासहित सचिव, रेल विभागका महानिर्देशक लगायतको उपस्थितिमा महानगरपालिकाले छलफल गरेको थियो ।
छलफलमा रेल विभागका महानिर्देशक रोहितकुमार विसुरालसहित विभागका परामर्शदाता कम्पनीका इन्जिनीयरहरूको सहभागिता रहेको थियो ।