काठमाडौं । आईसीसी १९ वर्षमुनि (यू–१९) विश्वकप क्रिकेटअन्तर्गत समूह ‘डी’को आफ्नो दोस्रो खेलमा नेपाल पराजित भएको छ ।
केहीबेरअघि सम्पन्न खेलमा नेपाललाई पाकिस्तानले ५ विकेटले हराएको हो । जीतसँगै पाकिस्तान समूह ‘डी’बाट सुपर सिक्समा प्रवेश गरेको छ ।
दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित क्रिकेट मैदानमा नेपालले आज बुधबार टस जितेर पहिला ब्याटिङ गर्दै पाकिस्तानलाई जीतका लागि १९८ रनको लक्ष्य प्रस्तुत गरेको थियो । विजय लक्ष्य पाकिस्तानले ५ विकेटको क्षतिमा ४७ दशमलव ४ ओभरमा पूरा गर्यो । पाकिस्तानका लागि आजन आविसले अविजित ६३, शम्याल हुसेनले ३७, शाहजैब खानले ३७, अहमद हसनले २९ तथा हारुन अर्शदले अविजित १५ रन बनाए ।
बलिङतर्फ नेपालका आकाश चन्दले ३ तथा आकाश त्रिपाठी र दिपेश काडेलले १/१ विकेट लिए ।
यसअघि पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभरको खेलमा नेपालले सवै विकेट गुमाएर १९७ रन बनाएको थियो । नेपालका लागि विपिन रावलले सर्वाधिक ३९ रनको योगदान दिए । उनले ६८ बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे । दीपक डुम्रेले ५८ बल खेल्ने क्रममा १ छक्कासहित २६ रन बनाए । कप्तान देव खनालले ३७ बलमा ३ चौकासहित २३, गुल्शन झाले १८, सुवास भण्डारीले २०, आकाश चन्दले अविजित १६, दिपेश कँडेलले १३ तथा अर्जुन कुमाल र आकाश त्रिपाठीले समान ६/६ रन बनाए ।
बलिङतर्फ पाकिस्तानका अराफात मिनहासले ३, उबैद शाह र अहमद हुसैनले २/२ तथा अली असफन्ड, खुबैब खलिल र मोहम्मद जिशनले १/१ विकेट लिए ।
प्रतियोगितामा यसअघि नेपाल पहिलो खेलमा न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । पाकिस्तानले पहिलो खेलमा अफगानिस्तानलाई १८१ रनले हराएको थियो । नेपालले अब शुक्रबार समूह ‘डी’को अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ ।