अछाम । अछामको तुर्माखाँद गाउँपालिकाले दुई वटा एम्बुलेन्स खरिद गरेको छ ।
भौगोलिक रूपमा जिल्लाकै विकट पालिकाको रूपमा रहेको तुर्माखाँद पालिकाले स्थानीयको स्वास्थ्य उपचारलाई ध्यान दिँदै दुई वटा एम्बुलेन्स खरिद गरेको हो ।
पालिकाले ४५ लाखमा एम्बुलेन्स खरिद गरेको तुर्माखाँद गाउँपालिका अध्यक्ष डम्बर बि।सी।ले प्रशासन डट कमलाई बताए । खरिद गरिएका दुई वटा एम्बुलेन्स मध्ये एउटा एम्बुलेन्स वडा न ८ मा रहेको धमाली स्वास्थ्य चौकीको मातहतमा रहने गरी वडा नं.८, ७ र वडा न ६ का नागरिकहरूलाई सेवा दिने भएको छ भने अर्को एम्बुलेन्स पालिकाका अन्य वडाका नागरिकहरूको सेवाका लागि परिचालन गरिने पालिकाले जनाएको छ । गत आर्थिक वर्ष २०७९र०८० को वार्षिक स्वीकृत बजेट अनुसार पालिकामा दुईवट एम्बुलेन्स खरिद गरिएको हो ।
एम्बुलेन्सले पालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई निःशुल्क सेवा दिने भएको छ । गत मङ्सिर महिनामा एम्बुलेन्स खरिद गर्नका लागि सम्झौता भएपनी एम्बुलेन्स भने असारमा मात्रै पालिकामा ल्याइएको छ ।
पालिका भौगोलिक रूपमा निकै विकट छ । यस क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाहरूले अहिले पनि दुःख पाईरहेको भन्दै बिशेषगरी महिलाहरूलाई सहज हुने गाउँपालिकाले अपेक्षा गरेको गाउँपालिका अध्यक्ष बिसीले बताए ।
आफूहरूले निर्वाचनको क्रममा पनि गर्भवती तथा सुत्केरी महिलाहरूका लागि पालिकामा निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएको र आफ्नो घोषण पत्रमा समेत यही कुरालाई प्राथमिकता दिएकोले सोही प्रतिबद्धतालाई कार्यान्वयन गरेको अध्यक्ष बिसीको भनाई छ ।
आफूहरूले चुनावका बेला जनता माझ गरेका प्रतिबद्धताहरू क्रमशः यसै गरी एकपछि अर्को गरी कार्यान्वयन गर्दै जाने बताए । आफूहरूले सस्तो लोकप्रियताको लागि भन्दा पनि यस क्षेत्रमा रहेका नागरिकहरूको समस्यालाई मध्येनजर गर्दै एम्बुलेन्स खरिद गरिएकाले यो कार्यबाट यस क्षेत्रका महिलाहरूलाई ठुलो राहात पुग्ने विश्वास उनको छ ।
पालिकाले यति मात्रै नभई तुर्माखाँद स्वास्थ्य चौकीमा दक्ष जनशक्ति सहित एक्सरे मेसिन समेत जडान गरेको छ । यो कार्यबाट सामान्य एक्सरे गर्नका लागि पनि मङ्गलसेन जानुपर्ने बाध्यता हटेको छ भने नागरिकहरू अतिरिक्त आर्थिक भारबाट समेत जोगिएका छन् ।