काठमाडौं । रोग, भोक, अशिक्षा, गरीबी र दुर्गमतालाई नै कर्णालीको पर्याय ठानिन्छ । देशका अन्य कुनै दुर्गम क्षेत्रलाई प्रतिबिम्बित गर्नुपरेमा पनि ‘फलानो ठाउँको कर्णाली’ भनेर अझै पनि जाने–बुझेका लेखकहरूले चिनाउँछन् तर राज्यले गरेको उपेक्षाबारे कमै लेखिन्छन् ।
अझ भन्नुपर्दा कर्णालीका सम्भावना र उपयोगबारे कलम चलाउन मुस्किलै मान्छन् । कर्णालीमा पनि यस्तो सम्भव छ र भनेर चिया–चौतारोमा प्रश्न तेर्स्याउनेहरूको कमी छैन ।
भलै पूर्वाधार विकासमा कर्णाली अन्य क्षेत्रको तुलनामा पछाडि छ तर स्वास्थ्य क्षेत्रमा मार्दै गरेको फड्कोले अब कर्णाली रोगको पर्याय हैन, देशलाई नै उपचार गर्ने सामर्थ्य राख्छ भन्ने वातावरण बन्दै गएको छ ।
कुनै बेला उपचार अभावमा ज्यान जाने जुम्ला आज अन्य क्षेत्रका बिरामीको उपचार गराउन सक्षम छ । यसको आधार हो विक्रम संवत् २०६८ सालमा जुम्लामा स्थापित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ।
पेट दुख्दा पनि भारतको लखनउ वा काठमाडौंसम्म लाखौं खर्च गर्न बाध्य कर्णालीबासी यतिबेला आँगनमै गुणस्तरीय सेवा पाइरहेका छन् । बिरामीको उपचार मात्र होइन, प्रतिष्ठानले उपचार गर्ने जनशक्ति पनि आफैं तयार पारेको छ । अझ भन्नुपर्दा कर्णालीले अब बिरामीको उपचार मात्रै होइन, डाक्टर पठाउँछ र पढाउँछ पनि ।
पछिल्लो समय प्रतिष्ठानमा चिकित्सा शिक्षाका कार्यक्रम सञ्चालित छन् । अहिले प्रतिष्ठानले पश्चिम नेपालका अधिकांश जिल्लामा गुणस्तरीय सेवा प्रदान गर्दै आएको छ । यतिबेला प्रतिष्ठानमा एमबीबीएस पढाइ समेत भइरहेको छ । अहिले एमबीबीएसको तेस्रो ब्याचका विद्यार्थीहरू अध्ययनरत रहेका प्रतिष्ठानका उपकूलपति डा. मंगल रावल बताउँछन् ।
‘पहिलोपटक २० जनाको कोटाबाट सुरु भएको अध्यापन अहिले ५० जनाको कोटामा पुगेको छ । पूर्वाधारको कमी छ, त्यसमा राज्यले सहयोग गर्यो भने हामी अरु कार्यक्रमहरू पनि थप गर्न सक्छौं,’ उनी भन्छन् ।
स्थापनापछि त केही आरोह–अवरोह पनि आए । साविक कर्णालीका ५ जिल्लालाई लक्षित गरी स्थापित प्रतिष्ठान यतिबेला कर्णाली प्रदेश मात्रै होइन, सुदूरपश्चिमका जनताका लागि समेत स्तरीय सेवा प्राप्त गर्ने थलो बन्दै गएको छ ।
भौगोलिक विकटता र पूर्वाधार अभावमा यसै पनि कर्णालीका नागरिक राज्यले प्रदान गर्ने सेवासुविधा उपभोग गर्न वञ्चित छन् । बिस्तारै गुणस्तरीय उपचार सेवाको आकर्षणको केन्द्रविन्दु बन्दै गएको प्रतिष्ठानको स्तरोन्नतिमा राज्यले पर्याप्त ध्यान नदिने हो भने फेरि कर्णालीका नागरिक उही पुरानै दुःख भोग्न बाध्य हुने उनको भनाइ छ ।
हुन त प्रतिष्ठान राज्यबाटै सञ्चालित हो तर कर्णालीका जनताको गुणस्तरीय स्वास्थ्य सुविधा उपभोगका लागि आवश्यक पूर्वाधार लगानीमा जति लगानी राज्यबाट हुनुपर्थ्यो, त्यो पर्याप्त छैन ।
यतिबेला कर्णाली अब बिरामीको उपचार मात्रै होइन, डाक्टर पठाउँछ भन्ने जुन भाष्य बन्दै गएको छ, त्यो वर्तमान नेतृत्वकै कारण सम्भव भएको हो । ‘कर्णालीको भरोसाकै केन्द्र यही हो । अब यसलाई हामी नेपालकै नमूना बनाउने अभियानमा छौं । जुम्ली जनताको साथ त छँदैछ, अब यसमा नेतृत्वमा बसेकाहरूले पनि पहल गर्नुपर्छ,’ उनी भन्छन् ।
उनले थपे, ‘चिकित्सा शिक्षाका साथै अन्य विधामा पनि स्नातक र स्नातकोत्तर कार्यक्रम सञ्चालनका लागि निर्धारित मापदण्डमा विशेष क्षेत्रका लागि नीति नहुँदा समस्या हुने रहेछ ।’
उनका अनुसार कम जनसंख्या भएको कर्णाली र जनसंख्याको चाप भएको काठमाडौंका लागि मेडिकल शिक्षण संस्था सञ्चालनका लागि ‘बेड अकुपेन्सी’ सम्बन्धी मापदण्ड, पूर्वाधार सम्बन्धी मापदण्ड एउटै छ । सरकारी अनुदानमा भर पर्नुपर्ने संस्थामा मापदण्ड अनुसारका भौतिक, प्राज्ञिक पूर्वाधार बनाएर काम थाल्न त्यो अनुसारको राजनीतिक इच्छाशक्ति पनि कर्णालीले विगतमा नपाएको उनको तर्क छ ।
स्थापना हुँदा ३०० शय्याको अस्पताल भनिए पनि सुरुवातमा त्यसअनुसारको संरचना थिएन । अहिले पनि देखिने गरी एउटा त्यही अस्पताल भवन मात्र हो । अरु अध्यापनका लागि भाडाका घरहरू प्रयोग भइरहेका छन् ।
एमबीबीएसबाहेक बीपीएच, एचए र स्टाफ नर्सको स्नातक तहको अध्यापन पनि सुरु भइसकेको छ । एमडी सुरु भएका बाल रोग, एनेस्थेसिया र एमजीपीसँगै थप गाइनाकोलोजी, अर्थोपेडिक्स्को पनि पाठ्यक्रम बनाएर चिकित्सा शिक्षा आयोगमा पेश गरिएको थियो । पोषण, फार्मेसी, बीएन कार्यक्रम सुरु गर्न पनि स्वीकृतिका लागि पेश भएको छ ।
उनका अनुसार सुरुका दिनमा जुम्लामा ‘फ्याकल्टी’ पाउनै कठिन थियो । अहिले आवेदन खुलेपछि छानेरै लिन पाइने भएको छ । हाल सुरु भएका र योजना अनुसारका पूर्वाधार बन्न कम्तीमा ४ वर्ष लाग्ने उनी बताउँछन् ।
भौगोलिक र प्राकृतिक आधारसँगै प्रतिष्ठानले लिएको चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको नमूना विश्वमै एक उदाहरणीय बन्ने प्रतिष्ठानका रजिस्ट्रार निर्पेन्द्र महतको भनाइ छ । उनका अनुसार हाल प्रमुख रूपमा अस्पतालको सेवा सञ्चालन, छात्राबास तथा फ्याकल्टी टिकाउन पनि विद्युत्को समस्या छ ।
अब विदेशीलाई पनि डाक्टर पढाउँछ प्रतिष्ठान
प्रतिष्ठानले हाल एमडी, एमएस, एमबीबीएस, बीएनएस, बीएमएस, बीपीएच र बी फर्मा लगायतका चिकित्सा शिक्षाका कार्यक्रमहरू चलाइरहेको छ । अहिले नेपालका मात्र नभएर भारतदेखि पनि विद्यार्थी डाक्टर पढ्न आएका छन् ।
लाखौं खर्च गरेर केहीको संख्यामा डाक्टरी पढाउन भारत पठाउने कर्णालीका लागि अहिले त्यही भारतका विद्यार्थी कर्णालीमा डाक्टरी पढ्न आउँदा प्रतिष्ठानले गति लिएको मान्नैपर्छ । हुन त नेपालका अन्य चिकित्सा शिक्षा अध्ययन संस्थानमा विदेशका विद्यार्थी अध्ययनका लागि नआउने होइनन् तर देशभित्रकै नागरिक काम गर्नका लागि कर्णाली भन्नेबित्तिकै अझै पनि नाक खुम्च्याउने अवस्थामा विदेशबाट अध्ययनका लागि त्यहाँ पुग्नु आफैंमा गौरवाम्वित बनाउने कुरा हो ।
प्रतिष्ठानको अध्यापन, सेवाको गुणस्तरीयता आदिलाई हेरेकै कारण बाहिरबाट विद्यार्थी अध्ययनका लागि आएका उपकूलपति डा. रावल बताउँछन् । स्थापनाकालमा मुस्किलले दैनिक १०० जना बिरामी मात्र हुन्थे । सोही कारण पनि जुम्लामा चिकित्साको अध्ययन हुन सक्दैन भनेर लख काट्नेहरू धेरै थिए ।
तर अहिले दैनिक ६०० भन्दा बढी बिरामी छन् । बिरामीको संख्या, सेवाको गुणस्तरीयता र पढाइलाई मूल्यांकन गरेरै चिकित्सा शिक्षा आयोगले ५० सिट एमबीबीएस अध्यापनको अनुमति दिएको छ ।
जसअनुसार ५० जनाको कोटामा ४ जना विदेशी विद्यार्थीका लागि हुन्छ । सोही कोटाअन्तर्गत अहिले भारतबाट ३ जना विद्यार्थी अध्ययनका लागि आएका छन् ।