काठमाडौं । ललिता निवासको जग्गा हडपेको प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सङ्गठित अपराधमा अनुसन्धान थालेको छ ।
काठमाडौं जिल्ला अदालतबाट अनुमति लिएर सिआइबीले उनीहरूमाथि सङ्गठित अपराधमा अनुसन्धान थालेको हो । अहिलेसम्म यस प्रकरणमा सिआइबीले ९ जनालाई पक्राउ गरिसकेको छ ।
यसअघि सिआइबीले यो प्रकरणमा सरकारी कागजात किर्ते कसुरमा अनुसन्धान गरिरहेको थियो। तर आरोपीहरूले सङ्गठित रूपमा अपराध भएको भन्दै सङ्गठित अपराधमा पनि अनुसन्धान थालेको हो ।
सिआइबीले उनीहरूलाई मङ्गलवार सरकारी वकिलको कार्यालय काठमाडौँ मार्फत अदालतमा म्याद थपका लागि पेस गरेको थियो ।
गत बुधवार अदालतमा पेस गर्दा कीर्ते कसुरमा ७ दिनको म्याद थप भएको थियो। हिजो भने अदालतले उनीहरूलाई सङ्गठित अपराध कसुरमै अनुसन्धान गर्न ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
कीर्ते कसुरमा आरोपीलाई जम्मा २५ दिन मात्रै हिरासतमा राख्न पाउँछ । सङ्गठित अपराध कसुरमा म्याद थप भएसँगै प्रहरीले थप समय पाउने भएको हो । सरकारी वकिल कार्यालय काठमाडौँका अनुसार सङ्गठित अपराधमा ६० दिनको म्याद पाइन्छ। यस प्रकरणमा संलग्न रहेको आरोपमा असार १२ गते चार जनालाई हिरासतमा राखेको थियो ।
भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधिरकुमार शाह, धर्मप्रसाद गौतम र गोपाल कार्की प्रहरी हिरासतमा बसेका थिए ।
त्यस दिन देखि नै ६० दिनको मिति गणना हुन्छ। उनीहरूलाई पक्राउ गरेको आज नवौँ दिन हो। अनुसन्धान गर्न प्रहरीसँग अझै ५१ दिन बाँकी छ ।
तर पक्राउ परेका गुरुङ, शाह र गौतमले सर्वोच्चमा बन्दी प्रत्यक्षीकरण रिट हालेका छन् । त्यससम्बन्धीमा गत शुक्रवार सर्वोच्चका न्यायाधीश कुमार चुडालले कारण देखाऊ आदेश जारी गरेका थिए ।
सिआइबीले त्यसको पनि जवाफ फर्काइसकेको छ ।