मुगु । जिल्लाको सोरुगाँउपाली-६ पुरुमुरु गाँउमा ‘भाइरल’ ज्वरोका कारण तीन जनाको मृत्यु भएको छ ।
भाइरल ज्वरोले सोरुगाँउपालिका-६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको सोरुगाँउपालिका-६ जिमा गाँउका कर्णजित बुमीले जानकारी दिए ।
जिल्लाका पुरुमुरु,जिमा,भिई,नार्थपु,सिप,ख्याल्च,वुम्च,लगायत गाउँका सर्वसाधारण भाइरल ज्वरोले पीडित भएका छन् । जिल्ला अस्पताल बिरामीले भरिएका छन् ।
गाँउभर बिरामी छन् तर स्थानीय सरकारबाट कुनै किसिमको सहयोग नभएको उनले गुनासो गरे । विपन्न वर्ग उपचारको अभावमा छटपटाइरहेका छन् । स्वास्थ्यचौकीमा सिटामोलसमेत नपाइने अवस्था रहेको उनले बताए ।
यसैबीच, जिल्ला स्वास्थ्य कार्यालयबाट मङ्गलबार खटिएको चिकित्सकसहितको टोलीले सोरुगाँउपालिका,पुरुमुरु र जिमा गाँउका एक सय ५० जनाभन्दा बढीको स्वास्थ्य परीक्षण गरेको छ ।
जिल्ला अस्पतालका चिकित्सक कमल ढुङ्गानाले चिसोका कारण बिरामी बढेका बताउँदै ‘भाइरल फिबर’ नियन्त्रण हुन केही समय लाग्ने जानकारी दिए । बिरामीमा लगातार पसिना आउने, टाउको दुख्ने, मांसपेसी दुख्ने, खानामा अरुची हुने, कमजोर महसुस हुने भाइरल फिबरका लक्षण देखिएको छ ।