काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत कीर्तिपुरस्थित त्रिवि मैदानमा आज बिहीबार भएको खेलमा मधेश प्रदेश विजयी भएको छ ।
मधेश प्रदेशले गण्डकी प्रदेशलाई १४५ रनको भारी अन्तरले पराजित गरेको हो ।
मधेशले जीतका लागि दिएको ३३६ रनको विशाल लक्ष्य गण्डकी प्रदेश ३९ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै १९० रनमा समेटियो । गण्डकीका लागि ईश्वर क्षेत्री र कमल परियारले समान २७/२७ रनको योगदान दिए ।
कृश ऐरले २६, चन्द्र पौडेलले २३, रोशन गौतमले २२, समीर कँडेल र मुस्कान थापाले समान १८/१८ रन बनाए । मधेशका लागि रञ्जित कुमारले ४ विकेट लिए भने कप्तान हरिशंकर शाहले ३ विकेट लिए । प्रदीप पासवानले २ तथा राजेश यादवले १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको मधेशले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै ३३५ रनको योगफल बनाएको थियो । मधेशका लागि अनिल साहले सर्वाधिक १२७ रनको योगदान दिए ।
उनले १२५ बल खेल्दै ११ चौका र ६ छक्का प्रहार गरे । अरनिको यादवले ३४ बलमा ५ चौका र ३ छक्काको मद्दतले अविजित ६३ रन बनाए । रुपेश सिंहले ४७, पवन सराफले ४०, रुपेश सिंहले ३२, अविशेक तिवारीले अविजित २७ तथा मयन यादवले २७ रन बनाए ।
गण्डकीका लागि सन्दीप पराजुलीले २ विकेट लिए भने कृष्ण पौडेल र कमल परियारले समान १–१ विकेट लिए । जीतसँगै मधेशले ७ खेलमा ८ अंक जोडेको छ । गण्डकी प्रदेशले ५ खेलमा ४ अंक बनाएको छ ।