काठमाडौं । यू–१९ विश्वकप क्रिकेटमा नेपाली युवा टोली अफगानिस्तानलाई हराउँदै ‘सुपर सिक्स’मा प्रवेश गरेको छ ।
अफगानिस्तान विरुद्धको निर्णायक खेलमा ब्याटिङमा कप्तान देव खनाल र बलिङमा आकाश चन्द चम्किँदा नेपालले संघर्षपूर्ण जीत निकालेको छ ।
अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै नेपाल सुपर सिक्समा पुगेको छ । जीतसँगै समूह ‘डी’बाट पाकिस्तान, न्युजिल्यान्ड र नेपालले सुपर सिक्समा स्थान बनाउँदा अफगानिस्तान प्रतियोगिताबाट बाहिरिएको छ ।
दक्षिण अफ्रिकामा जारी प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ४०.१ ओभरमा ‘अल आउट’ हुँदै १४५ रन बनाएको थियो । जवाफमा नेपालले ४४.३ ओभरमा ९ विकेट गुमाएर लक्ष्य पूरा गरेको छ ।
नेपालको जीतमा कप्तान देव खनालले ५८ रनको सानदार इनिङ खेलेका छन् । जारी विश्वकपमा पहिलो अर्धशतक प्रहार गर्ने क्रममा खनालले ८९ बलमा ७ चौका प्रहार गरेका थिए । दिपक बोहराले २७ रन, आकाश त्रिपाठीले १६ रन र अर्जुन कुमालले १० रन बनाए ।
अफगानिस्तानका लागि नसिर खान मारोफखिल र खालिल अहमेदले २–२ विकेट लिएका छन् ।
पहिले ब्याटिङ गरेको अफगानिस्तान १४५ रनमा समेटिएको थियो ।
अफगानिस्ताका लागि कप्तान नसिरले ३१ रन, एएम घजनफारले ३७ रन, फरिदोन दावदजाइले २९ रन बनाएका थिए । नेपालका लागि आकाश चन्दले ५ विकेट लिँदा दिपेश कँडेलले २ विकेट, गुल्सन झा, शुभाष भण्डारी र तिलक भण्डारीले समान १/१ विकेट लिएका थिए ।