फुङलिङ । ताप्लेजुङको हिमाली क्षेत्रमा हिमपात भएको छ । आज वर्षासँगै जिल्लाको उच्च हिमाली क्षेत्र तथा पाथीभरामा बाग्लो हिमपात भएको हो ।
साँझ वर्षासँगै पाथीभरा मन्दिर सहितका उच्च क्षेत्रमा हिमपात भएको स्थानीयले बताएका छन् ।
वर्षासँगै पाथीभरा मन्दिर क्षेत्रमा हिमपात भइरहेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतोले बताए । पाथीभरामा यो वर्ष तेस्रोपटक हिमपात भएको हो । यसअघि कात्तिकमा सामान्य हिमपात भएको थियो ।
फक्ताङ्लुङ गाउँपालिका–६ लेलेपको घुन्सा, फले, वडा–७ ओलाङ्चुङगोला, याङ्मा लगायत जिल्लाको हिमाली बस्तीमा हिउँ परेको घुन्साका छिरिङ टाँसी शेर्पाले बताए । शेर्पाका अनुसार हिमाली क्षेत्रमा अहिले हिमपात भइरहेको छ ।
ओलाङ्चुङगोलाकै याङ्मामा क्षेत्रमा हिउँ परेको छ । ४ हजार २०० मिटर उचाइमा रहेको याङ्मा जिल्लाकै उच्च भेगको बस्ती हो ।
यसैगरी तेह्रथुम, संखुवासभासँगको सीमावर्ती क्षेत्र तथा मैवाखोला गाउँपालिकाको शिर तीनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रमा पनि हिमपात भएको छ । जिल्लाको मिक्वाखोला गाउँपालिका–५ पापुङ, सिदिङ्वा गाउँपालिकाको उच्च भागमा हिमपात भएको स्थानीयले बताएका छन् ।
यस वर्ष विगतका तुलनामा भने कमै हिमपात भएको छ । हिमपात र वर्षा भएपछि किसान हर्षित भएका छन् । मकै लगायत खाद्यान्न बाली लगाउने समयमा हिमपात र वर्षा हुँदा किसानले राहत महसूस गरेका छन् ।
नगदे बाली अलैंची, तरकारी लगायत बालीका लागि पनि हिउँ र वर्षाले राहत मिलेको किसानको भनाइ छ । जिल्लाको उच्च स्थानीयमा हिमपात भएसँगै अत्यधिक चिसो बढेको छ ।