रुकुम पश्चिम । राप्ती राजमार्गअन्तर्गत पर्ने रुकुम पश्चिमका विभिन्न सडकखण्ड धमाधम स्तरोन्नति गर्न थालिएका छन् ।
सडक स्तरोन्नति नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ भएको थियो ।
राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका–४ सोलावङबाट मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने शीतलपोखरीसम्म सडक स्तोन्नति भएपछि आवतजावतमा सहज भएको बस चालक रिमबहादुर पुनले बताए । सडकखण्डमा सडक चौडा, मोड सुधार र कालोपत्र गरिएको छ ।
‘पहिले सडक साँघुरो थियो, साँघुरो सडकमा दुर्घटनाको जोखिम पनि उत्तिकै हुुन्थ्यो, अहिले सडक स्तरोन्नति भएपछि मोडमा पनि सजिलै यातायातका साधन चलाउन सहज भएको छ,’ उनले भने ।
राप्ती राजमार्गअन्तर्गत सल्यानको जलेखर्कबाट रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ नुवाकोटको झक्ते खोलासम्म १० किलोमिटर, रुकुम पश्चिमको मुसीकोट नगरपालिका–४ सोलावाङबाट शीतलपोखरीसम्म ६ किलोमिटर र सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म ६ किलोमिटर गरेर २२ किलोमिटर सडकखण्ड स्तरोन्नति भइरहेको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख तेजस्वी शर्माले जानकारी दिए ।
उनका अनुसार काम सञ्चालन भएका ३ वटै ठाउँमा सडक कालोपत्र, मोड सुधार र आवश्कता भएमा सडक चौडा बनाउने काम भइरहेको छ । राप्ती राजमार्गअन्तर्गत पर्ने सल्यानको जलेखर्कबाट रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ नुवाकोटडाँडा झक्ते खोलासम्मको १० किलोमिटर सडक निर्माण गर्न कन्टेक निर्माण सेवा प्रालिले २१ करोडमा सम्झौता गरेको छ । सडकखण्डको विक्रम संवत् २०७८ चैत १७ गतेदेखि काम सुरु भएको हो ।
सडकखण्डको हालसम्म ६५ प्रतिशत भौतिक प्रगति भएको सडक डिभिजन कार्यालय चौरजहारीका प्रमुख शर्माले जानकारी दिए ।
सडकखण्ड विक्रम संवत् २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने समयावधि रहेको छ । राप्ती राजमार्गअन्तर्गत पर्ने मुसीकोट नगरपालिका–४ सोलावाङबाट भित्री सडकखण्ड राउखेतसम्म ६ किलोमिटर सडक कालोपत्रको काम धमाधम भइरहेको छ ।
विक्रम संवत् २०७९ फागुनदेखि यती बिल्डर्स निर्माण कम्पनीले सडक निर्माणको काम सुरु गरेको थियो । उक्त निर्माण कम्पनीले हालसम्म ७० प्रतिशत भौतिक प्रगति देखिएको छ । सडकखण्ड स्तरोन्नतिका लागि २१ करोडमा जिम्मा पाएको निर्माण कम्पनीले उक्त सडकखण्ड आगामी वर्षको भदौ मसान्तसम्म निर्माण गरिसक्नुपर्ने सम्झौता भएको छ ।
जिल्ला सदरमुकाम नजिक समेत रहेको मुसीकोट नगरपालिका–४ शीतलपोखरीबाट सोलावाङसम्मको ६ किलोमिटर सडकखण्डको मोड सुधार, सडक चौडा तथा पहिरो खसेको ठाउँमा तारजाली निर्माणको काम जारी छ । उक्त सडकखण्डको निर्माण गर्न प्यागोडा निर्माण कम्पनीले ६ करोडमा ठेक्का लिएको छ । सो सडकखण्डको ५० प्रतिशत भौतिक प्रगति भएको र विक्रम संवत् २०८१ असार मसान्तसम्म निर्माण सम्पन्न गरिसक्नुपर्ने समयसीमा रहेको चौरजहारी सडक डिभिजन कार्यालयले जनाएको छ ।