प्रचण्डले प्रधानमन्त्री पदमा बस्ने नैतिक आधार गुमाए : प्रतिपक्षी दल एमाले

प्रचण्डले प्रधानमन्त्री पदमा बस्ने नैतिक आधार गुमाए : प्रतिपक्षी दल एमाले

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पदमा बसिरहने राजनीतिक र नैतिक अधिकार गुमाएको बताएको छ । 

बुधबार बसेको एमाले संसदीय दलको बैठकले यो विषय संसद्को बैठकमा गम्भीर रुपमा उठाउने निर्णय गरेको हो । आइतबार पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रीतम सिंह बारम्बार दिल्ली गएको अभिव्यक्ति दिएका थिए । एमालेले प्रधानमन्त्रीले आपत्तिजनक अभिव्यक्ति दिएको भन्दै प्रतिनिधि सभाको बैठकअघि संसदीय दलको आकस्मिक बैठक बोलाएको थियो ।

एमाले बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिले जनादेशको अपमान गरेको ठहर समेत गरेको छ । 'यो प्रधानमन्त्रीको निजी विषय होइन, देशको स्वाभिमानसँग जोडिएको विषय हो', बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले सचेतक महेश बर्तौलाले भने 'संसद्ले बनाएको प्रधानमन्त्री स्वयंले कोही मान्छे उहाँलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको थियो भन्ने भाष्य स्थापित गरेर नेपालको प्रधानमन्त्री नेपालबाट होइन, दिल्लीबाट बन्दछ भन्ने के स्थापित गर्न खोजिँदै छ ?'

नेपालको संसद्ले नभएर, दिल्लीले प्रधानमन्त्री बनाएको अर्थ लाग्ने प्रधानमन्त्रीको अभिव्यक्ति सामान्य नभएको भन्दै उनले भनेका छन्, 'उहाँले राजनीतिक, नैतिक हिसाबले प्रधानमन्त्री पदमा बसिरहने आधार गुमाएको देख्छौँ ।'