तनहुँ । मुग्लिन–पोखरा सडक आयोजनाले पश्चिम खण्डमा पहिलोपटक कालोपत्रका लागि परीक्षण सुरु भएको छ ।
पृथ्वीराजमार्ग सडकखण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित हलेदीमा कालोपत्रका लागि परीक्षण गरिएको हो ।
कालोपत्रमा प्रयोग गरिएका साधन तथा कच्चा पदार्थ ठीक छ कि छैन भनेर परीक्षण गरिएको मुग्लिन–पोखरा सडक आयोजना (पश्चिम खण्ड) का इन्जिनीयर नारायण पौड्यालले जानकारी दिए । जामनुेबाट कोत्रेसम्मको ५ किलोमिटर दूरी फागुन १५ भित्र कालोपत्र गर्ने गरी प्रक्रिया अघि बढाइएको हो । पृथ्वीराजमार्ग खण्डमा पूर्वी र पश्चिम गरी २ खण्डमा सडक विस्तारका कार्य भइरहेको छ ।
पश्चिम खण्डमा हालसम्म १५ प्रतिशत भौतिक प्रगति भएको उनले बताए ।
राजमार्गको पश्चिम खण्डअन्तर्गत जामुनेबाट पोखराको सेतीपुलसम्म ३८ दशमलव ८८ किलोमिटर सडक पर्दछ । उक्त खण्डमा सडक विस्तार तथा स्तरोन्नति कार्य चीनको यनहुइ काइयुन हाइवे एण्ड ब्रिज कम्पनीले ठेक्का पाएको छ । पश्चिम खण्डका लागि ७ अर्ब ४० करोड ४६ लाख ८१ हजारमा ठेक्का सम्झौता भएको हो । विक्रम संवत् २०७८ भदौदेखि काम सुरु भएको यस खण्डको काम २०८१ भदौ १२ मा सम्पन्न गर्नुपर्ने सम्झौता छ ।
मुग्लिन–पोखरा सडकअन्तर्गत पूर्वी खण्डमा हालसम्म १९ किलोमिटर दूरीमा एकतर्फी सडक कालोपत्र गरिएको छ । डुम्रेबाट छिर्कनसम्म दुईतर्फी ७ किमीका दरले १४ किमी र एकतर्फी ५ किमी गरी उक्त दूरीमा कालोपत्र सम्पन्न भएको छ । पूर्वी सडकखण्डमा हालसम्म ४४ प्रतिशत कार्य प्रगति भएको मुग्लिन–पोखराको पूर्वी खण्डका इन्जिनीयर विष्णु पाण्डेले जानकारी दिए ।
उनका अनुसार आँबुखैरेनीको बरादीबाट सत्रसयतर्फ करीब ३ किमी दूरीमा कालोपत्रको काम भइरहेको छ । उक्त स्थानमा कालोपत्र सम्पन्न भएलगत्तै आँबुखैरेनी गाउँपालिका कार्यालयबाट ४ लेनको सडक कालोपत्र गर्न बेस हाल्ने काम भइरहेको छ ।
पूर्वी खण्ड ४१ दशमलव ४५ किलोमिटर लामो छ । पूर्वी खण्डका लागि ६ अर्ब २१ करोड ३१ लाखमा ठेक्का सम्झौता भएको छ । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । उक्त खण्ड २०८१ वैशाखसम्म सम्पन्न गर्नुपर्नेछ ।