टीकापुर । कैलालीको टीकापुर–८ धनसिंहपुरमा केराको थामबाट रेसा उत्पादन थालिएको छ ।
धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाले उद्योग स्थापना गरी रेसा उत्पादन थालेको हो ।
यसरी उत्पादन भएको रेसा कपडा र बिछ्याउने कार्पेट बनाउन प्रयोग हुन्छ । सहकारीले उत्पादन गरेको कच्चा पदार्थ बिक्री गर्न काठमाडौं पठाइने भएको छ । सहकारीले काठमाडौंको एक कपडा उत्पादन गर्ने उद्योगसँग कच्चा पदार्थ बिक्री गर्ने सहमतिअनुसार उद्योग स्थापना गरिएको धनसिंहपुर एकता समाज बचत तथ ऋण सहकारी संस्थाका व्यवस्थापक रामकृष्ण चौधरीले जानकारी दिए ।
केराको रेसा उत्पादनका लागि सहकारीले हाल प्राविधिकसहित २ कर्मचारी राखेर काम थालेको छ । रेसा उत्पादन गर्ने मशिनको टीकापुर नगरपालिका–८ का वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले हालै उद्घाटन गरे ।
केराको थामबाट रेसा उत्पादन गर्ने सुदूरपश्चिमा पहिलो उद्योग भएको व्यवस्थापक चौधरीको दाबी छ ।
‘केराको थाम पाउन समस्या छैन,’ उनले भने । सहकारीले भवन बनाउने, आम्दानी गर्ने, सहकारी बलियो हुने मात्र नभई समुदायमा रोजगारीको वातावरण समेत सिर्जना गर्ने काम गरेको छ ।
सहकारीले रेसा उत्पादन गर्ने उपकरणसँगै रेसा पकाउने मशिन र धागो बनाउने चर्खा समेत जडान गर्ने भएको छ । केराको धागो र रेसा बनाउन सहकारीको २ लाख र दीगो विकास समाज भजनीको २ लाख लगानी लागेको व्यवस्थापक चौधरीले बताए । खेर गइरहेको केराको थाम प्रयोग गरेर आम्दानी गर्न सकिने भएकाले केराको रेसा निकाल्ने मेसिन सञ्चालनमा ल्याएको उनले बताए ।
सहकारी आफैंले तालिम सञ्चालन गरी शेयर सदस्यलाई सीप सिकाएर हाते ब्याग, गुन्द्री, टोपी लगायतका सामग्री उत्पादन गरेर आम्दानी लिने उद्देश्य राखेको छ । विक्रम संवत् २०६८ सालमा स्थापना भएको सहकारीले शेयर सदस्यलाई आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम गर्दै आएको छ ।