इलाम । इलामको पशुपतिनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ को पुससम्ममा १ करोड ३४ लाख १३ हजार राजस्व संकलन गरेको छ । यो लक्ष्यको ६९ दशमलव ९६ प्रतिशत हो ।
आव २०८०/८१ मा भन्सारले १ करोड ९१ लाख ७१ हजार राजस्व संकलनको लक्ष्य लिएको थियो ।
आव २०७७/७८ मा १ करोड ८९ लाख ९९ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएको पशुपतिनगर भन्सारले १ करोड २ हजार राजस्व संकलन गरेको कार्यालय प्रमुख प्रवीन सुब्बाले जानकारी दिए । आव २०७८/७९ मा २ करोड ५३ लाख ४० हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा ८७ लाख ३८ हजार (३४ दशमलव ४८ प्रतिशत) राजस्व संकलन भएको थियो । सुब्बाका अनुसार, २०७९/८० मा २ करोड ५० लाख ८५ हजार राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा २ करोड ७१ लाख ८२ हजार (१०८ प्रतिशत) राजस्व संकलन गरिएको छ ।
कार्यालयका नायब सुब्बा विनोद आचार्यले अवैध कारोबारअन्तर्गत बरामद भएको सामग्री लिलामीबाट सबैभन्दा बढी राजस्व संकलन भएको बताए । पशुपतिनगर भन्सारअन्तर्गत ८ वटा छोटी भन्सार कार्यालय रहे पनि सबै छोटी भन्सार कार्यालय यसअघि नै बन्द भइसकेका छन् ।
‘हरियो तरकारी, छुर्पी, दूध, चिया, घ्यू चिज, गमला, लत्ताकपडा र जुत्ता चप्पल भारत निर्यात हुँदै आएको पशुपतिनगर नाकाबाट भन्सार कार्यालय लक्ष्यअनुसार राजस्व संकलन गर्न थालेको छ,’ आचार्यले भने ।
कार्यक्रममा सूर्योदय उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले नेपालतर्फ भन्सार भए पनि भारतमा भन्सार कार्यालय नहुँदा समस्या हुँदै आएको बताए । भारततर्फ भन्सार नहुँदा बिल इन्ट्री नहुने समस्याका कारण आयात निर्यातमा समस्या हुँदै आएको अध्यक्ष राईले जानकारी दिए । उक्त अवसरमा भारतीय सुरक्षा निकायका अधिकारी अजय कौशीकले भारततर्फ भन्सार, क्वारेन्टाइन लगायतका कार्यालय स्थापना गर्न भौगोलिक समस्या रहेको बताए ।
इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले दुवै देशले सीमा क्षेत्रमा आवश्यक कार्यालय स्थापना गरेर आयात निर्यात सहज बनाउनुपर्ने बताए । उनले भौगोलिक विकटताका कारण कार्यालय स्थापना गर्न सकिएन भन्ने भारतको भनाइमा सत्यता नरहेको बताए । कार्यालय प्रमुख सुब्बाले खुला सीमानाका भएका कारण चोरी पैठारी रोकिन नसकेको बताए ।
कार्यक्रममा सबैभन्दा बढी कारोबार गर्ने सूर्योदय–२ पशुपतिनगरका दादिकी शेर्पालाई सम्मान गरिएको थियो । उक्त अवसरमा कार्यालयका नायब सुब्बाद्वय विनोद आचार्य र प्रकाश सुन्दासलाई उत्कृष्ट कर्मचारीका रूपमा सम्मान गरिएको थियो । भन्सार दिवसको उपलक्ष्यमा पहिलो सेवाग्राहीका रूपमा भारतको दार्जिलिङका दावानर्बु शेर्पालाई सम्मान गरेको नायब सुब्बा आचार्यले जानकारी दिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म पशुपतिनगर र ईलाका प्रहरी कार्यालय पशुपतिनगरलाई राजस्व संकलनमा सहयोग गरेको भन्दै कदरपत्र प्रदान गरिएको छ । ७२औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसर पारेर शुक्रबार आयोजना गरिएको कार्यक्रममा कार्यालयले अर्थवार्षिक नतिजासहित ३ वर्षको प्रगति सार्वजनिक गरेको छ ।