पर्वत । गाउँसम्म पुग्ने सडकको अवस्था गतिलो नहुँदा पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका किसानलाई सुन्तला ढुवानी गर्न कठिनाइ भएको छ ।
एउटै गाउँमा लाखौं रुपैयाँको सुन्तला उत्पादन भए पनि बजारमा पुर्याउन सकिएको छैन ।
बाँसखर्क जोड्ने वारीबेनी–बगर–बाँसखर्क सडक स्तरोन्नति हुन नसक्दा गाउँसम्म सवारीसाधन पुग्न समस्या भएको छ । ठूला सवारी साधन सुन्तला बगानसम्म पुग्न नसक्दा व्यवसायीलाई सुन्तला ढुवानी गर्न समस्या भएको स्थानीय जगतबहादुर खत्रीले जानकारी दिए ।
उनले भने, ‘जीपमा थोरै सुन्तला टिपेर बेनी–मालढुंगा सडकसम्म झार्ने र ठूलो ट्रकमा राखेर लैजानुपर्ने बाध्यता छ । यसले ढुवानी लागत र समय बढी लाग्ने गरेको छ ।’
अहिले बाँसखर्कसम्म पुग्न वारीबेनी र मिलनचोकबाट कच्ची सडकको सुविधा छ तर जीर्ण सडकका कारण ठुला ट्रक र टिप्पर गाउँसम्म पुग्न सक्दैनन् । जीप मुस्किलले गाउँसम्म पुग्ने कृषक खत्रीले गुनासो गरे ।
ठूला ट्रक तथा कन्टेनरबाट एकैपटक ढुवानी गर्न पाए सहज हुने सुन्तला खरिद गर्न बगानमा आएका कालीमाटीका एक व्यवसायीले बताए । १० किलोमिटरको दूरी पार गर्न झण्डै डेढ घण्टा लाग्ने गरेको उनले बताए ।
जलजला गाउँपालिका–२ वारीबेनीदेखि वडा नम्बर १ बाँसखर्क जोड्ने सडक कालोपत्र गर्नका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) स्वीकृत भइसकेको छ तर बजेट विनियोजन नहुँदा स्तरोन्नति हुन सकेको छैन । १० किलोमिटर लामो सडकमा २२ करोड खर्च हुने अनुमान गरिएको छ ।
बर्सेनि सुन्तला ढुवानी गर्न समस्या हुने गरेको स्थानीयको गुनासो छ । सडक निर्माण भएमा उत्पादन हुने सुन्तला बजार पठाउन तथा बाँसखर्कमा सञ्चालित होमस्टे प्रवद्र्धन गर्न सकिने छ । पूर्वाधार विकास कार्यालय पर्वतका प्रमुख गुरुदत्त अधिकारीले चालू आवमा बाँसखर्क जोड्ने कुनै पनि सडकका लागि बजेट विनियोजन नभएको बताए । मिलनचोक–माझफाँट–बाँसखर्क सडकका लागि १ करोड विनियोजन भए पनि त्यसले जम्मा १ किलोमिटर मात्र कालोपत्र गर्न सकिने उनले बताए ।