काठमाडाैं । सवारीचालक अनुमतिपत्रको लागि राजस्व अनलाइनमार्फत् भुक्तानी गर्न सकिने भएको छ । बुधबार मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभागको सिस्टममा लिंक खोलेर सेवाको सुरुवात गरेसँगै सवारीचालक अनुमतिपत्रको अनलाइन भुक्तानी शुरुवात भएको छ ।
पहिलो चरणमा गण्डकी प्रदेशबाट प्रारम्भ भएको यो सेवा महिनादिन भित्रैमा अन्य ६ प्रदेशबाट प्रारम्भ गरिने मन्त्री ज्वालाले जानकारी गराए ।
अब बायोमेट्रिक,ट्रायल र लिखित परीक्षा दिनका लागि मात्र यातायात कार्यालय धाउनु पर्ने छ । बिस्तारै यी सेवा पनि अनलाइनबाटै गर्ने प्रयास भइरहेको मन्त्री ज्वालाले जानकारी गराए ।
नेपालमा झन्डै ३३ लाख ६० हजारले चालक अनुमति पत्र लिएका छन् । तीमध्ये दैनिक ६ देखि सात हजार सेवाग्राही नविकरण र वर्ग थपका लागि यातायात ब्यवस्था कार्यालयमा लाइन बस्दै आएको यातायात व्यवस्था विभागको आकँडा छ । यो कार्य प्रारम्भ भएसँगै चालक अनुमति पत्र र नवीकरणका लागि लाइन बस्नु पर्ने र विचौलियासँगको सास्ती भोग्नुपर्ने व्यवस्था अन्त्य हुने मन्त्रालयले जनाएको छ ।
प्रकाश ज्वाला मन्त्री भएसँगै पाँच पाँच बर्षमा लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था रहेकोमा त्यसलाई सुधार गरि हरेक १० वर्षमा लाइसेन्स नवीकरण गरे हुने ब्यवस्था बनाइने तयारी भइरहेको छ ।


















1688558262.png)









