मङ्गलबारे । इलाममा जारी प्रथम ‘एनआरएनए इलाम गोल्डकप’को उपाधि न्यूरोड टीम काठमाडौं (एनआरटी) ले चुमेको छ ।
आज शनिबार भएको फाइनलमा पेनाल्टी सुटआउटमा एनआरटीले ४–३ गोलअन्तरले झापालाई पराजित गरेको हो ।
निर्धारित समयमा गोल हुन नसकेपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट निकालिएको छ । प्रतियोगितामा बिर्तामोड युनाइटेड झापा उपविजेता भएको छ ।
बिर्तामोड युनाइटेडका तर्फबाट हिसुव थपलिया आजको खेलमा प्लेयर अफ दि म्याच घोषित भए । एनआरटीका राजीव लोप्चनले पहेंलो कार्ड पाए । एनआरटीले यसअघि सेमिफाइनलमा आयोजक रेडहर्स फुटबल क्लब र क्वार्टर फाइनलमा बागमती युवा क्लबलाई पराजित गरेको थियो ।
बिर्तामोडले सेमिफाइनलमा पाँचथरलाई र क्वार्टर फाइनलमा राष्ट्रिय जागृति क्लबलाई हराएको थियो ।
विजेताले नगद ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाएका छन् । विजेता तथा उपविजेता टीमलाई इलाम नगरपालिकाका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि केदार थापालगायतका अतिथिले वितरण गरेका छन् ।
सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उदीयमान खेलाडी र उत्कृष्ट कोचलाई नगद ५ हजार पुरस्कार वितरण गरिएको छ ।
गत माघ ६ गतेबाट सुरु भएको प्रतियोगिता रेडहर्स फूटबल क्लबले आयोजना गरेको छ ।